Birendranagar Municipality

पत्रकारलाई विधागत रिपोर्टिङ तालिम

सेरोफेरो
२८ असार, सुर्खेत । सुर्खेतका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारलाई खानेपानी तथा सरसफाई सम्बन्धी विधागत रिपोर्टिङ (बीट रिपोर्टिङ) तालिम दिइएको छ । बुधबार वीरेन्द्रनगरमा सम्पन्न उक्त तालिमको आयोजना खानेपानी, सरसफाई तथा स्वच्छता (वास) पत्रकार समुहले गरेको हो ।


विशेषगरी स्वास्थ्य तथा सरसफाईका क्षेत्रमा पत्रकारले कलम चलाउन प्रयत्न गरोस् भन्ने उदेश्यले यो तालिम सञ्चालन गरिएको वास पत्रकार समूहका संयोजक गोबिन्द खत्रीले जानकारी दिए ।


नेपालमा बीट रिपोर्टिङको शुरुवात २०४६ सालको आन्दोलन पछि मात्र भएको हो । पत्रकारिताको क्षेत्रमा विस्तार भएसंगै निश्चित एउटा विषयमा मात्र गहिरो अध्ययन गरेर गरिएको रिपोर्टिङले मात्र सत्य तथ्य समाचार आउने भएकोले पछिल्लो समयमा विट रिपोर्टिङले बजार लिएको छ ।


केन्द्रका ठूला सञ्चार माध्यमले बीटको राम्रो अभ्यास गरेपनि सुर्खेतमा भने बीट रिपोर्टिङको अभ्यासमा कमी देखिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय पत्रकारिता र आमसञ्चार विभागका उप–प्राध्यापक युवराज शर्माले बताए ।


विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीहरु सहभागी रहेको उक्त तालिमको सहजीकरण पत्रकारद्वय युवराज शर्मा र भानुभक्त अधिकारीले गरेका थिए ।

 

२०७४ असार २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्