Birendranagar Municipality

टुहुरा बालबालिकाका अभिभावक सम्मानित

टुहुरा बालबालिकाका अभिभावक सम्मानित

सेरोफेरो
२९ असार, सुर्खेत । विभिन्न कारणले अभिभावक गुमाएका बालबालिकाका अभिभावक मोहनदास गुरुङ सम्मानित भएका छन् । बिहिबार आयोजित साझा बिसौनी दैनिकको सातौं बार्षिकोत्सवको अवसरमा नवजीवन बाल संरक्षण केन्द्र सुर्खेतका सञ्चालक गुरुङलाई साझा वर्ष व्यक्तिको रुपमा सम्मानित गरिएको हो ।


गुरुङले २०५४ सालदेखि सुर्खेतमा बाल संरक्षण केन्द्र सञ्चालनमा ल्याएका थिए । हाल केन्द्रमा १९ जना बालक र २० जना बालिका सहित ३९ जना छन् । उनलाई नगद पाँच हजार सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


कार्यक्रममा २०७३ सालका उत्कृष्ट ग्राहकमध्येबाट हरियाली सञ्चार केन्द्र सुर्खेतका वसन्त सिग्देल, स्तम्भकार हरिप्रसाद घिमिरे, विज्ञापन दाता साउथ एशियन स्कलार्स एकेडेमी तथा कर्मचारी भागीराम पाण्डे सम्मानित भएका हुन् । कार्यक्रममा साझा बिसौनी दैनिकलाई आगामी दिनमा कस्तो बनाउने भन्ने बारे सुझाव संकलन गरिएको थियो ।


वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले समग्र सुर्खेतको पत्रकारिताको विकासका लागि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले निष्पक्ष पत्रकारिता गर्न पनि पत्रकारहरुलाई सुझाव दिएका छन् । उनले भने– ‘साझा बिसौनी दैनिक कसैको नबनोस्, तर सबैको बनोस् ।’ सुवेदीले हाल मिसन पत्रकारिताको समय समाप्त भएको र अबको पत्रकारिताको मिसन विकास हुनुपर्ने औंल्याएका छन् ।

 

२०७४ असार २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्