Birendranagar Municipality

भत्ता बाँड्ने क्रममा वडा सचिवको रहस्यमय मृत्यु

भत्ता बाँड्ने क्रममा वडा सचिवको रहस्यमय मृत्यु

सेरोफेरो
३० असार, सुर्खेत । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. ५ मा कार्यरत वडा सचिव हरिलाल कठायतको रहस्यमय मृत्यु भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको अवस्थामा बुधबार बिहान करीब साढे आठ बजे उनको मृत्यु भएको हो ।


बुधबार बिहानै कठायतले एक होटलमा चिया खाएर निस्केका थिए । त्यसको एक घण्टामै उनको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनले ‘पेट दुख्यो, अब म मर्छु कि क्या हो’ भनी छटपटाएका थिए । लगत्तै उनलाई स्थास्थ्य चौकी लगिएको थियो । उपचारको क्रममै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।


तातोपानी गाउँपालिका वडा नं. ३ स्थायी घर भएका कठायतको मृत शरीर हेलिकोप्टरबाट बुधबारै जुम्ला लगिएको थियो । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको पोष्टमार्टम गरिएको थियो । कठायतको सामाजिक परम्पराअनुसार बिहिबार दाहसंस्कार गरिएको छ ।


नेपाल राष्ट्रिय कर्मचारी संगठनले कठायतको मृत्यु रहस्यमय तरीकाले भएको भन्दै छानबिनको माग गरेको छ । पोष्टमार्टम रिपोर्ट नआएसम्म उनको मृत्युबारे केही भन्न नसकिने जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।

 

२०७४ असार ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्