सेरोफेरो
३१ असार, सुर्खेत । 'साथ तपाईंको नेतृत्व हाम्रो, हामी बनाउँछौं वीरेन्द्रनगरलाई राम्रो' भन्ने नाराका साथ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगर सभा शनिबार सम्पन्न भएको छ । वीरेन्द्रनगरका १६ वटै वडाबाट पारित भएर आएका विभिन्न योजना तथा कार्यक्रमलाई कार्यपालिकामा छलफल गरी पारित भएका कार्यक्रमलाई नगर सभामा पेश गरिएको थियो ।
सभाले आर्थिक बर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । उक्त नीति तथा कार्यक्रम नगर कार्यपालिका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक मोहामाया ढकालले सभा समक्ष प्रस्तुत गरेकी थिइन् । सभाले विभिन्न शीर्षकमा कुल ६५ करोड ५४ लाख तीन हजार रुपैया विनियोजन गरेको छ ।
नगर प्रमुख देवकुमार सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त सभाको प्रमुख अतिथी समाजसेवी दुर्गाकेशर खनाल र विशेष अतिथी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला रहेका थिए । साथै सभामा क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईं, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, स्थानीय विकास अधिकारी अमृत लम्साल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्