सीता वली/सेरोफेरो
१ साउन, सुर्खेत । सामाजिक सुरक्षा भत्ता लिन जाँदा पाउने रकम भन्दा दोब्बर खर्च भएको जेष्ठ नागरिकहरुले बताएका छन् । भत्ताकै लागि धेरै दिन धाउनुपर्दा खर्च बढेको उनीहरुको गुनासो छ । घर आँगनमै पाउनुपर्ने भत्ता सदरमुकामस्थित बैंकबाट दिने भएपछि उनीहरु समस्यामा परेका हुन् ।
वीरेन्द्रनगरका वडा नं. १ देखि १३ सम्मका जेष्ठ नागरिक, पाँच वर्ष मुनिका दलित बालबालिका, एकल महिला, अपाङ्ग, पूर्ण अशक्त, लगायत लक्षित वर्गलाई दिने समाजिक सुरक्षा भत्ता वितरणमा नगरपालिकाले लक्ष्मी बैंकसंग सहकार्य गरेको छ ।
भत्ता लिनेको लाइन बिहान पाँचदेखि शुरु हुन्छ एरीचोकस्थित लक्ष्मी बैंकको कार्यालयमा । ‘हुन त रकम जहिले झिक्दापनि हुन्छ । तर, उहाँहरु कुरै बुझ्नुहुन्न’, नगद काउन्टरका रबि ढकालले भने– ‘स्थानीय वडाका वडा सचिव वा नगरपालिकाबाट टोकन दिंदा नै यो कुराको जानकारी गराइदिए सेवाग्राहीले सास्ती भोग्नु पर्ने थिएन ।’ भीडलाई लक्षित गरेरै बैंकले थप कर्मचारीको व्यवस्था गरी विहान १० देखि बेलुका ६ बजेसम्म सेवा दिंदै आएको पनि उनले बताए ।
सेवाग्राही भने पछि पैसा पाउनेमा आश्वस्त हुन सकेका छैनन् । वीरेन्द्रनगर ८ की तारा बस्नेत भन्छिन्– ‘विश्वास नै नलागेर रकम झिक्न आएकी हुँ । चेक बुक दिएको छैन के आधारमा पछि पैसा छ भनी आउनु ?’ उनले प्रश्न गरिन् । वीरेन्द्रनगर ५ का ७८ वर्षीय लोकबहादुर घर्तीलाई भने आफ्नो पैसा नझिके फिर्ता हुन्छ भन्ने डर रहेछ । भन्छन्– ‘अहिल्यै नझिके फिर्ता हुन्छ जस्तो लाग्यो । त्यही भएर भीड भएपनि लाइनमै छु ।’
कतिपय जेष्ठ नागरिक भने बैंकमा पैसा राख्न उचित ठान्दैनन् । उनीहरु भन्छन् ‘आज हो कि भोली भएको मान्छेले के बैंकमा पैसा राख्नु ।’ वीरेन्द्रनगर ३ का गोपालसिं खड्काले भने– ‘हामी त डाँडापारिका घाम आज हो कि भोली, बैंकमा पैसा थन्क्याएर के गर्नु ? बरु पैसा साथमा भए आफूलाई मन लागेको चिज किनेर खान त पाइन्छ ।’ कतिलाई भने पैसा अत्यन्तै हर्जा भएकोले लाइनमै बसेर भएपनि निकाल्नु पर्ने रैछ । ‘विगत आठ महिना देखि नपाएको पैसा अहिले आएको छ किन नझिक्नु ?’ उनीहरुले भने ।
धेरैजसो जेष्ठ नागरिकलाई बैंकबाट दिएको यो सेवा मन परेको छैन । घर आँगनमै पाउनुपर्ने भत्ता लिन दिनभरी लाइनमा बस्नुपर्दा उनीहरुलाई सास्ती भएको छ । खड्का भन्छन्– ‘घरको आँगनमा त निस्कन गार्हो हुन्छ, भत्ताको लागि दिनभर लाइन लाग्दा लाग्दै बिरामी परियो ।’ जनप्रतिनिधि बाटै यो सेवा दिन सके राम्रो हुने सुझाव समेत उनले दिएका छन् । वीरेन्द्रनगर १३ की टीका पोखरेल पनि यसमा सहमत छन् । भन्छिन्– ‘बैंकिङ सेवाबाट लक्षित वर्गलाई दुःख भयो ।’
बर्षा याममा पैसा लिन दिनभर लाइनमा बस्दा कतिबेला उनीहरु रुझेका छन् त कतिबेला टन्टलापुर घामले उनीहरुलाई पोलेको छ । वीरेन्द्रनगर ८ की जैकला नेपालीको गुनासो छ– ‘चिसोमा लाइनमा बस्दा शरीरमा चिसो गढ्ने, ढाड दुख्ने, रिङ्गटा लाग्ने समस्या भयो ।’
वीरेन्द्रनगर नगरपालिकाकी उपमेयर मोहनमाया ढकालले भने बैंकको विकल्प नभएको बताइन् । ‘सामाजिक सुरक्षा भत्ता कार्यक्रम राष्ट्रिय सरकारको बजेट भएकोले यसको विकल्प छैन ।’ अबका दिनमा जनचाहना अनुसार स्थानीय जनप्रतिनिधि मार्फत् नै भत्ता वितरण गर्ने व्यवस्था गर्न पहल गर्ने पनि उनले बताएकी छन् । यद्धपी आफ्नो खातामा भएको रकम जहिले झिक्दा पनि हुन्छ भन्ने बुझाउन नसक्दा सेवाग्राहीले सास्ती बेहोर्नुपरेको उनको भनाई छ ।
वीरेन्द्रनगरका वडा नं. १४, १५ र १६ मा भने सामाजिक सुरक्षा भत्ता जनप्रतिनिधिबाटै वितरण गर्ने व्यवस्था मिलाइएको छ । बैंकसंग यी वडाका सेवाग्राहीको पहुँच नभएकाले यस्तो व्यवस्था मिलाइएको वडा नं. १५ का सचिव दुर्गा आचार्यले सेरोफेरोलाई जानकारी दिए ।
हुनत २०७१ सालमा पनि सिटिजन बैंक सुर्खेतबाट यो सेवा दिइएको थियो । तर त्यो परीक्षणको रुपमा मात्रै सिमित रह्यो । हाल वीरेन्द्रनगर नगरपालिकाले लक्ष्मी बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपनि सेवाग्राहीले सहज महसुस गर्न सकेका छैनन् ।
यससंगै अब स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि कस्तो नीति अबलम्वन गर्ने भन्ने प्रश्न उठेको छ । एकातर्फ जेष्ठ तथा अशक्त नागरिकलाई बैंकमा लाइन लागेर पैसा निकाल्न कष्टपूर्ण छ भने अर्कोतिर सरकारले सबै स्थानीय तहमा बैंक स्थापना गरी आर्थिक कारोवार व्यवस्थित बनाउने पहल थालिसकेको छ ।
सामाजिक सुरक्षा भत्ता बृद्ध भत्ताको रुपमा पहिलो पटक २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले शुरु गरेका थिए । एक सय रुपैयाबाट शुरु भएको बृद्ध भत्ता हाल दुई हजार पुगेको छ । बृद्ध भत्ताका अलावा एकल महिला, दलित बालबालिका, अल्पसंख्यक, अपाङ्ग, अशक्त लगायत लक्षित समूहलाई सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।
प्रतिकृया दिनुहोस्