
पवित्रा शाही
विश्व समाजमा मानवीय र सामजिक विकासले धेरै फड्को मारेको सबैलाई लागेको छ । नेपालमा पनि महिलाको सशक्तिकरण, विकास र समानताका लागि हरेक तहबाट धेरै प्रयास भएको छ । आजका दिनमा समान हक र समानताका लागि बालिका र महिला मैत्री कानुन, नीति, नियम पनि बनेका छन् । राणाकाल, पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा राज्यले पाइला टेकेको छ ।
नेपाली समाज पनि भौतिक, आर्थिक र प्रविधिको विकासमा जुटेको छ । बजारको सीमिततालाई भूमण्डलीकरणले तोडेको छ । सबैखाले सामाजिक, बैज्ञानिक तथा प्रविधिगत विकासको असर बालबालिकामा परेको छ । विशेष गरी बालिकाहरुले परिवार, समाज र बजारमा विभिन्न समस्या तथा चुनौतीको सामना गर्नुपरेको छ ।
विकासको गति बढ्दै जाँदा बालिका वा महिलामाथि नकारात्मक असर परेको देखिन्छ । उनीहरु कुनै न कुनै रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष उपभोग्य वस्तु वा साधनको रुपमा नै प्रयोग भएको अवस्था छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा महिला तथा बालबालिकामैत्री विभिन्न कानुनको निर्माण भई लागु भएता पनि व्यवहार वा बजारमा महिलाको स्थान तल्लो दर्जाको जस्तो देखिन्छ । हुनत राजनीतिक परिवर्तन संगै नेपालमा अधिकतर महिलाको नेतृत्व विकास भएको छ । विभिन्न सरकारी तथा गैरसरकारी पहलले महिला सशक्तिकरणमा टेवा पुगेको छ । तरपनि नेपाली समाजको परम्परागत सोच र व्यवहारका कारण बालबालिका आफ्नो अधिकारबाट बञ्चित छन् ।
महिला स्वास्थ्य सेवा र पोषणको अभावले कतिपय बालबालिकाहरु पूर्ण विकसित हुन नपाउँदै ओइलाउँछन त कतिपय यस संसारमा पाइला टेक्न नपाउँदै विलाउँछन । कतिपयले आधुनिकताको बाजारीकरणले नारकीय जीवन विताउन बाध्य छन् । बालिका भ्रुणको हत्या, सुन्दरी प्रतियोगिता आदि केही उदाहरण हुन् ।
अन्य प्राणीजस्तै सृष्टिको सञ्चालन गर्ने, सन्तान उत्पादन गर्ने मानव जातीको गौरवको कुरा हो । यसमा पनि प्रकृतिले महिलालाई आमा बन्नुको आनन्द र पीडा एकैसाथ दिएको छ । हरेक महिलाले आमा बन्दा गर्वको महसुस गर्छ, गर्नुपर्छ । तर, नेपाली समाजमा हुने बाल विवाह वा अन्य कारणले साना नानीहरु गर्भवती भएका छन् । जुन अकल्पनीय र दुःखदायी कुरा हो ।
एक दिनको कुरा हो । आवाज संस्थाको परामर्श केन्द्रमा एक महिला आइन् । उनको साथमा दुई महिनाको बच्चा र १३ बर्षको बालिका थिए । मलीन अनुहार लाएर उनले भनिन्– ‘मेरो घर दैलेख जिल्लामा हो । ठूलीलाई देखाएर उनले भनिन् यो मेरो छोरी हो । श्रीमानको मृत्यु पछि आफ्ना चार छोराछोरीलाई पाल्न निकै दुःख झेल्नुपर्यो । फूपुले पढाउने र आफूलाई केही सहयोग होला भनेर रीता (नाम परिवर्तन) लाई सुर्खेतमा ल्याइन् । फूपु घरमा नभएको बेला ६५ बर्षको फूपाजुले जबर्जस्ती करणी गरे । त्यतिबेला रीताको पहिलो पटक महिनावारी भएको थियो । उनको गर्भ रह्यो ।
बच्चा कसरी जन्मन्छ भन्नेपनि रीतालाई थाहा रहेनछ । पाँच छ महिनापछि उनी घर गइन् । घरबाट सुर्खेत जाँदै जान्न भनिन् । रीताले पेट दुख्यो भनेर छट्पटिएपछि धामीकहाँ लगियो । उनको पेटमा बच्चा भएको कुरा त्यतिबेला थाहा भयो जब त्यहीं बच्चा जन्मियो । अब यी दुबै बालिका (आमा र बच्चा) को भविष्य के होला ? उनले प्रश्न गरिन् ।
यस्तै १४ बर्षकी बालिकालाई बिबाह गर्ने प्रलोभनमा पारी २६ बर्षको पुरुषले गर्भवती बनाई छोडेको घटना वा १५ बर्षकी बालिकालाई तीन महिनासम्म आफ्नो कोठामा संगै राखी अनुचित सम्बन्ध राखी उनी गर्भवती भएपछि छोडेर गएका घटनाहरु नै किन नहुन् सबैले हामीलाई झकझक्याएका छन् ।
यी सबै बालिकाको साथ आवाजमा आउने आमाहरुको भनाई एउटै छ कि अब यिनको भविष्य के होला ? यसमा प्रतिनिधिपात्र यी अबोध बालिकाहरुको के दोष छ ? उनीहरुबाट जन्मेका वा जन्मने सन्तानको जीवन कस्तो होला ? त्यसमा पनि कुमारी आमा बन्दा समाजले उनीहरुलाई कसरी हेर्छ त ? यसमा उनीहरुको दोष अज्ञानता सिवाय केही छैन । यस्ता घटनामा संलग्न पुरुष कहाँ होलान् ? वा, उनीहरुलाई कस्तो सजायँ होला ? उनीहरु कस्तो जीवन व्यतित गर्दै होलान् ?
कुमारी या अबोध बालिका आमा बन्ने समस्या समाजमा दिन प्रतिदिन बढ्दो छ । यसरी कलिलो उमेरमा आमा बन्नुपर्दा उनीहरुको शिक्षा, स्वास्थ्य लगायत समग्र शारीरिक तथा मानसिक विकासमा असर पर्छ । यस्तो समस्या समाधानका लागि हामी सबै गम्भीर हुनु जरुरी छ । हाम्रो घर, छिमेक, टोल, गाउँ सबैतिर यस्ता घटना हुनसक्छन् । जसको हामीले खबरदारी गर्नु जरुरी छ भने बालबालिकालाई पनि यस्ता कुराहरुबारे जानकारी दिनु आवश्यक छ । बालबालिकालाई भविष्यप्रति सचेत हुन सिकाउनुपर्छ । भने अपराधी पनि हाम्रै समाजमा व्याप्त छन् । तिनको निगरानी गर्नु वा उनीहरुलाई सुधार्नु हाम्रो कर्तव्य हो । यस्ता सामाजिक अपराध कम गर्नु हामी सबैको दायित्व हो ।
प्रतिकृया दिनुहोस्