सेरोफेरो
७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस शनिबार मनाइएको छ । मुलुक भित्र तथा बाहिरका विभिन्न ठाउँमा कार्यक्रम गरी उनका योगदानको स्मरण तथा अभियानको समिक्षा गरिएको छ ।
किर्तिपुरस्थित पुष्पलाल स्मृतिबाटिका चम्पादेवीमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमालेका शीर्षस्थ नेताहरुले शालिकमा माल्यार्पण गरेका थिए । यसै सन्दर्भमा सुर्खेतको वीरेन्द्रनगरमा पनि दुईवटा छुट्टा छुट्टै कार्यक्रम गरी पुष्पलालको सम्झना गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान सुर्खेतद्वारा आयोजित ‘नेपाली समाजलाई क. पुष्पलालको योगदान’ र अनेरास्ववियु मध्यपश्चिमाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान’ विषयक विचार गोष्ठीमा एमाले पोलिटव्युरो सदस्य बेदुराम भुसालले सहजिकरण गरेका थिए ।
विसं १९८१ असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट रामेछाप जिल्लाको भँगेरी गाउँमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा निधन भएको थियो ।
तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँको शवसमेत नेपाल ल्याउन दिएको थिएन । विसं १९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको भन्ने आरोपमा गोली हानी हत्या गरिएपछि दाजुको अभियानलाई पूरा गर्नका लागि उनी राजनीतिमा होमिएका थिए ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपालका सबै कम्युनिष्ठ पार्टीले पुष्पलालाई सम्झन्छन् । उनले विसं २००६ मा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए । विसं २००५ मा माक्र्स, एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ लाई नेपाली समाजको वर्ग विश्लेषण गरी पहिलो पटक उनले नेपाली भाषामा अनुवाद समेत गरे । नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न पनि उनको योगदान रहेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छन् । उनले कम्युनिस्ट घोषणापत्र, सोभियत रुसमा व्यक्ति र समाज, माक्र्सवाद के हो, चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी, गाउँका गरिबलाई अपिलजस्ता पुस्तक नेपाली भाषामा उल्था गरेका छन् । यसैगरी उनका नेपाली इतिहास, नौलो जनवाद, नेकपा सम्बन्धी कृति प्रकाशित छन् ।
प्रतिकृया दिनुहोस्