Birendranagar Municipality

कांग्रेसको घरमा कम्लरी बस्थें, एमालेको झण्डा कसरी बोक्न सक्थें ?

शान्ता चौधरी, केन्द्रीय सदस्य, नेकपा एमाले 
कांग्रेसको घरमा कम्लरी बस्थें, एमालेको झण्डा कसरी बोक्न सक्थें ?

बाल्यकाल कसरी बित्यो ? 

निकै असहज बतावरण थियो । गरिब परिवारमा जन्म भयो । कमैयाको घरको सदस्य भएं । सानै उमेरदेखि कम्लरी बसियो । कमैया, भूमिहीन, सुकुम्बासीका बच्चाहरुको वाल्यकाल कसरी बित्छ ? एकदमै दुःखदायी ।


बाल्यकालमा पूरा नभएका कुनै रहर ?
मेरा उमेरका साथी खेलेको देख्दा खेल्न मन लाग्थ्यो । उनीहरुले पटक पटक खाना खाइरहेको देख्दा आफूले पनि त्यस्तै खान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । स्कूल जान असाध्यै मन थियो । आफ्नो उमेरका साथीहरु पढ्न जान्थे तर मेरो रहर मात्रै भयो ।

 

८ वर्षको उमेर देखि कम्लरी बस्नुभो । गरिब भएर कि थारु भएर ?
खासगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका थारु समूदायमा मानिस जमिन्दारको घरमा कमैया र कम्लरी बस्ने प्रथा छ । थारु भएकै कारण म कमलरी बसेको होइन । थारु भएकै कारण बस्नु परेको भए त अरुहरु पनि बस्थे होला । गरिब भएकोले हो ।

 

कम्लरी बसेकै अवस्थामा कम्लरी मुक्तिको अभियान शुरु गर्ने सोच कहाँबाट आयो ?
यो संयोग हो । समयक्रमसंगै चेतनाको पनि विकास भयो होला । सबै मानिस एकै किसिमका हुँदैनन् । चेतना सबैको फरक फरक हुन्छ । कोही विद्रोही खालका हुन्छन् त कोही सहनशील । कसैले संयमता अपनाउँछन् । म अन्याय माथि जाइलाग्ने खालकी थिएँ । अरुको दमन र शोषणलाई पचाउन नसक्ने । जमिन्दारको घीनलाग्दो व्यवहारले मेरो परिवार पनि पिरोलिनु पर्यो । मेरो नन्द र दिदिहरु यौन हिंसामा पर्नुभयो । मैले पनि भोली त्यही पीडा भोग्नुपर्छ मेरा छोरीहरुले पनि त्यस्तै पीडा भोग्नुपर्छ भन्ने लाग्यो र विद्रोहको भाव आयो ।

 

जमिन्दारको घरमा कस्ता कस्ता हिंसा हुन्थे ?
घरेलु हिंसा । यौन जन्य हिंसा । घरेलु हिंसालाइ त म सामान्य रुपमा नै लिन्थें । यौनजन्य हिंसामा परेका मेरा परिवारका सदस्यलाई पनि देखें र गाउँका दिदि बहिनीलाई पनि देखें । अबोध बालबालिकाहरुले यस्तो नियति भोग्नु नपरोस भन्ने मान्यताका साथ म यो प्रथाको विरुद्धमा लागें ।

 

उत्प्रेरणा/हिम्मत दिने व्यक्ति ?
शुरु शुरुमा उत्प्रेरणा दिने त्यस्तो व्यक्ति त कोही थिएन । सबै भन्दा ठूलो उर्जा त मेरो पीडा नै हो । अलिअलि सहयोग गर्ने मान्छे त चाहिन्छ तर आफ्नो भोगाइको अनुभव छैन, जीवनमा पीडाको कुनै अनुभुति नै छैन भने जतिसुकै सहयोगी भएपनि अगाडि जान सकिंदैन ।

 

भूमि अधिकार मञ्चमा सकुम्बासी, भूमिहीनको संगठनमा काम गर्ने आश्वानी चौधरी हुनुहुन्थ्यो । उहाँले महिलाको क्षेत्रमा काम गर्नुहुन्थ्यो । ग्रामीण महिला उत्थान केन्द्र भन्ने संस्था थियो । उहाँले बेला बेलामा अन्यायको विरुद्धमा लड्नु पर्छ । अन्याय सहेर बस्नु भन्दा ठूलो पाप केही होइन भन्ने कुराहरु सिकाउनु हुन्थ्यो । विस्तारै कम्लरी, कमैया, भूमिहीन, सुकुम्बासी, महिलाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरु पनि आउन थाले । जनचेतना बढ्दै गयो ।

 

कम्लरी बस्दाका १८ वर्षलाई कसरी लिनुहुन्छ ?
जुन घरमा मैले १८ वर्ष पार गरें । त्यो निकै दुःखदायी थियो । अर्काको घरमा दासी जीवन विताउँदाको समय जो कसैले पनि अनुमान गर्न सक्छ । ८ वर्षको अवोध बालिका जमिनदारको घरमा कसरी काम गर्‍यो होला ? आफूले गर्न नसक्ने काम पनि गर्नु पर्ने । आमा बुवाको याद आउँदा पनि माया मारेर बस्नु पर्ने । हरेक चाहनालाई मनमै गुम्स्याउनु पर्ने ।

 

सबै जमिनदार त्यस्तै त थिएनन् । तर कतिपयको घरमा बस्दा निकै दुःख कष्ट सहेर बसें । त्यतिखेर मेरो व्यक्तिगत जीवन थिएन । मेरो भौतिक शरीर पनि आफ्नो थिएन । सधैं अर्काको अधीनमा चल्नुपर्ने । जमिन्दार र जमिन्दार्नीले जे जस्तो गर भने त्यस्तै गर्नुपर्ने ।

 

तपाईंको बिबाह कति उमेरमा भयो ?
१५ वर्षको उमेरमा मेरो बिबाह भयो । जमिनदार र आमाहरुको सल्लाह अनुसार भयो । मलाई त्यतिखेर बिबाहको बारेमा त्यति थाहा थिएन । अहिलेका बच्चा जस्ता टाठा थिएनौं ।

 

जुन काममा पनि सफल हुनुभाछ । यसको राज के हो ?
हाँस्दै.. गज्जबको प्रश्न गर्नु भयो । भगवानले सबैलाई एउटा एउटा काम गरेर खाउ भनेका हुँदा रहेछन् कि जस्तो लाग्छ । मेहनत पनि हो । सबैले म सांसद भएको, पार्टीको केन्द्रीय सदस्य भएको, किताब लेखेको देख्छन् । त्यसभित्र मेरो कति संघर्ष छ, कति दुःख छ भन्ने कुरा धेरैले देख्दैनन् । मान्छेले एकैचोटी सफलता मात्रै देख्छ । संसारका सफल व्यक्तिहरुलाई पनि हेर्न सक्नुुहुन्छ । सफलताको पछाडि कति मेहनत छ । संघर्ष नगरीकन कोही पनि मानिस सफल हुन्छ जस्तो मलाई लाग्दैन । मैले हात पारेको सफलता पनि निरन्तर संघर्षको फल हो जस्तो लाग्छ ।

Shanta

सभासद बन्दा पनि मलाइ टपक्कै टिपेर ल्याइएको होइन । भूमिहीनको क्षेत्रमा, कम्लरीको क्षेत्रमा काम गरें । यही अभियानमा लागेवापत गाउँलेहरुले मलाई गाऊँ निकाला गरिदिए । घृणा गर्थे, थुक्थे । समूदायमा मलाई हेर्ने दृष्टि नै फरक थियो । त्यो समयमा त्यही समाजमा म कसरी बसें ? कसरी भिजेंहुँला ? घरपरिवारबाट पनि सहयोग थिएन । त्यति विधि असहयोगका बाबजुद गरिएको संघर्षले म संविधान सभासम्म पुगेको हुँ ।

 

संविधान सभामा प्रवेश गर्दा आफ्नो नाम लेख्न मलाई पाँच मिनेट लाग्थ्यो । त्यहाँभित्र कति संघर्ष गर्नु पर्‍यो होला ? निराश भइन । सांसद भनेको के हो भन्ने पनि थाहा थिएन सभासद भइसक्दा पनि । सिक्न कोसिस गरें । अवसरको सदुपयोग गर्नु पर्छ भन्ने मान्यता हो । निरन्तरको जागरुकता, संघर्ष र सिकाइले मान्छे अघि बढ्ने हो ।

 

योगदानले नै मान्छेको मुल्याङ्कन हुने हो । पार्टीले मलाई केन्द्रीय सदस्य बनाउनुमा सबै कुरा जोडिएका छन् । पार्टीमा गरेको योगदान, विगतमा लिएको जिम्मेवारी बहनका कुरा त छंदैछ । त्यसका अलावा महिला, आदिवासी जनजाति, तराईबासी भएको कारण पनि हुनसक्छ ।

 

कम्लरी मुक्तिको आन्दोलनबाट एमालेसंग कसरी जोडिन पुग्नुभो ?
वास्तबमा म पार्टीमा धेरै जुनियर मान्छे हो । म भन्दा धेरै योगदान दिएका कमरेडहरु पार्टीभित्र हुनुहुन्छ । हिजो भूमिगत भएर काम गरेका कमरेडहरुको देनको कारण आज म यो ठाऊँमा पुग्न सफल भएको छु । म उहाँहरुलाई सम्मान गर्न चाहन्छु । सभासद भएपछि मात्रै संगठित सदस्य लिएको हुँ । तर त्यो बाध्यता थियो । कांग्रेसको घरमा कमलरी बस्थें । एमालेको झण्डा कसरी बोक्न सक्थें ?

 

एमाले मलाई सानै देखि मन पर्थ्यो । मनमोहन अधिकारीको सरकारको पालामा धेरै राम्रा कामहरु भए । त्यतिखेर जताततै एमालेको लहर चलेको थियो । हाम्रो गाउँका एमालेहरुका बोल्ने शैली धेरै राम्रो थियो । त्यसैले नजिक हुन पुगें ।

 

पहिलो पटकको संविधान सभाको चुनावमा मलाई सभासद बनाउने कुरा चल्यो । मैले मानेकी थिइन । मलाई धेरै थाहा पनि थिएन । काँग्रेस, माओवादी र अन्य पार्टीहरुले सांसद बनाउछौं, माननीय बनाउछौं, तपाईंको नाम राख्छौं भनेका थिए । सांसद, माननीय भनेको पनि थाहा थिएन । आफ्नो कामले फुर्सद पनि हुन्थेन । नेताहरु भेट्न आएपछि म लुक्न जान्थें । पछि धेरै कुरा सोचें । काँग्रेस किन बन्नु, उसकै घरमा कम्लरी बस्थें । घाँटी रेटी रेटी मान्छे मार्ने माओवादीलाई म घृणा गर्थें । सबैतिर बुझ्दा एमाले नै जनताको सबैभन्दा राम्रो पार्टी रहेछ भनी निर्क्यौल गरें र एमाले भएँ ।

 

जमिन्दारको घर देखि सिंहदरबार सम्मको यात्रालाई कसरी सम्झनुहुन्छ ?
यो त मेरो कल्पना भन्दा पनि बाहिरको कुरा हो । सपनामा पनि चिताएको थिइन । परिस्थितिले मान्छेलाई कहाँबाट कहाँ पुर्‍याइदिँदो रहेछ । समय नै ठूलो कुरा हो रैछ । मेले नेता बन्छु भन्ने सोचेको पनि थिइन । एउटा पार्टीको कार्यकर्ता बन्छु भन्ने पनि मेरो कल्पना थिएन । हामी गरिबहरुको जिन्दगी अर्काको घरमा दासी बनेर जीवन गुजारा गर्नेले यति ठुलो सोच त कसरी बनाउन सक्छ र ? आजभोलि सम्झन्छु कम्लरी बस्दाका ति दिनहरु । मेरो विगत र वर्तमानलाई तुलना गर्दा आफै सपनामा पो छु कि जस्तो लाग्छ । अनि मेरो गाउँका जमिनदारहरुले कम्लरी बस्दा गर्ने र अहिले गर्ने व्यवहार आकाश जमिनकै फरक छ । उहाँहरुसंग मेरो राम्रो सम्बन्ध छ । दुःख पाएँ भन्दैमा नआत्तिनु, सुख पाएँ भन्दैमा नमात्तिनु भन्छन् नि, आजभोेलि त्यस्तै लाग्छ ।

 

कक्षा १० मा अध्ययनरत हुुनुहुन्छ । आफ्नो विद्यार्थी जीवनबारे बताइदिनुस् न ।
लामो हाँसो...। पढ्न बडो गार्‍हो हुँदो रहेछ । छोरा छोरीलाई गाली गर्न सजिलो । मैले पोहोरसाल आठ कक्षा पास गरें । एक साल ग्याप गरेर एसएलसी दिने भनेर अहिले पढ्न लागेकी छु । आठ कक्षामा नियमित विद्यालय गएँ । मेरा छोरा छोरी भन्दा पनि साना विद्यार्थीसंग बस्दा, खेल्दा मलाई बच्चाजस्तो महसुस हुन्छ । टिफिन टाइममा बच्चाहरु दौडेर जान्थे, म भने त्यसरी जान सक्दैनथेँ । त्यतिखेर चाहीं म बुढो भएछु कि जस्तो लाग्थ्यो । खाजा पनि साटेर खान्थ्यौं । स्कूलमा हुँदा बच्चाजस्तो र घर जाँदा बुढो जस्तो लाग्थ्यो ।

 

बिद्यार्थी जीवन एकदमै रमाइलो छ । बच्चामा यस्तो अवसर पाएको भए झन् कति रमाइलो हुन्थ्यो होला ! बुढेसकालमा त म यति खुशी छु । यति रमाइराछु । वाल्यकालमा कस्तो हुन्थ्यो होला ? जस्तो लाग्छ ।

 

वाल्यकालमा कम्लरी बस्नुभो । उमेर नपुग्दै बिहे भयो । कम्लरी मुक्ति आन्दोलनमा लाग्नुभो । सभासद् पनि हुनुभो । प्रत्यक्ष निर्वाचनको सामना गर्नुभयो । पार्टीको केन्द्रीय स्तरको नेता हुनुभयो । अहिले विद्यार्थी पनि हुनुभाछ । सबैभन्दा बढी गार्‍हो काम के रहेछ ?
सबैभन्दा अप्ठेरो जिम्मेवारी पाइसकेपछि निभाउन हुँदोरहेछ । आन्दोलनका लागि घरबाट निस्कनु यसै पनि गार्‍हो भइहाल्यो । जनताले हामीसंग जुन आशा र भरोसा गरेका हुन्छन् त्यो निभाउन निकै गार्‍हो हुन्छ । तर मैले सकेजति आफूले पाएको जिम्मेवारी बहन गरेकी छु ।

 

सांसद भएपछि मलाई निकै गार्‍हो भयो । यो कानून बनाउने ठाउँ हो । सबै कुरा सिकेर, राजनीति बुझेर गएको मान्छे पनि परिन म । त्यो भएकोले जनप्रतिनिधि भएर काम गर्दा मेरा लागि निकै अप्ठेरो भएको अनुभव छ ।

Shanta 2

सरकारले कम्लरी मुक्तिको घोषणा त गर्‍यो । तर उचित पुनर्स्थापना हुन सकेको छैन भन्ने गुनासो पनि आइरहेको छ नि ?
हो यहींनेर सबैभन्दा बढि समस्या छ । कमैयाहरुलाई २०५७ सालमा मुक्त गर्‍यो तर अहिले सम्म पुनर्स्थापना हुन सकेको छैन । कम्लरीहरुलाई पनि मुक्त भएको घोषणा गर्‍यो त उनीहरुलाई कसरी पुनर्स्थापना गर्ने भन्ने योजना राज्यले बनाएन । कमैयाहरुलाई जग्गा दिएजसरी कम्लरीलाई दिन गार्‍हो होला । तर कम्लरी बस्नुपर्ने मुख्य कारण के हो ? भनेर जबसम्म राज्यले केलाउन सक्तैन तबसम्म कुनै न कुनै रुपमा कम्लरी बस्नुपर्ने बाध्यता रहन सक्छ । अहिले पनि छ । कम्लरीको परिवार के मा आश्रित छ भन्ने कुरा राज्यले बुझ्न जरुरी छ । खासगरी कम्लरीका आमा बुवा अहिले पनि जमीनमा आश्रित छन् । जमीनमै परिश्रम गर्छन् । तर आफ्नो जमीन नभएकाले जमिन्दारको जमीन जोत्नकै लागि आफ्ना छोरी कम्लरीको रुपमा जमिन्दारको घरमा पठाउने बाध्यता छ । कम्लरीको परिवारलाई आत्मनिर्भर बनायो भने कम्लरीको पुनर्स्थापना हुन सक्छ ।

 

थारु उत्थानका निम्ति के गर्न जरुरी छ ?

मलाई त यो थारु उत्थान भनेको पनि मन पर्दैन । राज्यले नगरेको पनि होइन । विभिन्न खालका आरक्षण कोटा निर्धारण गरेको छ । समानुपातिक र समावेशीका कुराहरु गरेको छ । सधैंभरी हामी कोटै कोटामा गयौं भने पनि हाम्रो बानी बिग्रन्छ । प्रतिष्पर्धाबाट अघि बढ्न सक्तैनौं । त्यसैले राज्य, मेरो पार्टी वा जो कोहीेले पनि वर्गीय समस्याको समाधान गर्‍यो भने जातीय समस्या आफै समाधान हुन्छ । अहिले हरेक निकायमा आदिबासी जनजातिको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ । कार्यपालिका, व्यवस्थापिका वा न्यायपालिका समेतमा समावेशी अभ्यासहरु भएका छन् । यसैलाई निरन्तरता दिंदै गयो भने सबै समूदायको प्रतिनिधित्व हुँदै जान्छ । हाम्रो समूदायको मान्छेले पनि सधैं दया माया खोज्नु भएन । म पनि सक्षम छु, मैले पनि केही गर्न सक्छु भन्ने कुरामा सहमत हुन सक्नुपर्छ ।


जातीय कुरा म उठाउँदिन । सर्वहारा, श्रमजीवि वर्गको लागि लड्ने पार्टीको सदस्य भएको नाताले म जातीय मुद्दा त्यति ठूलो ठान्दिन । हुनत जात, धर्मको कारणबाट नेपाली समाजमा धेरैले पीडा भोग्नुपरेको छ । जातलाई पनि सम्बोधन गर्दै जाने तर मुख्य समस्याको रुपमा रहेको वर्गीय समस्यालाई समाधान गर्‍यो भने सबै खालका समस्या समाधान हुन्छन भन्ने लाग्छ ।


तपाईंहरु जमिन्दारको घरमा कम्लरी बस्नुभो । अहिले पनि धनी व्यक्तिहरुले घरेलु कामदारको रुपमा बालिका तथा महिलाहरुलाई राखेको पाइन्छ नि ?
यो महत्वपूर्ण प्रश्न हो । मैले भन्ने गरेकी छु– कम्लरी देशैभरी छन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा थारु बढी भएको कारणले उनीहरुको भाषामा कम्लरी शब्द प्रयोग गरियो । अन्यत्र घरेलु कामदार, नोकर भनियो । फरक यति हो । घरेलु कामदारलाई न्यूनतम ज्यालामा काम लगाइन्छ भने कम्लरीलाई निःशुल्क । अहिले पढाइदिन्छौं पनि भन्छन् । सामान्य पारिश्रमिक पनि दिन्छन् । पहिले भन्दा धेरै सकारात्मक हुँदै गएको छ ।

 

अहिले गाउँमा कम्लरीहरु छैनन् । सबै जमिन्दारहरु शहर केन्द्रीत भए । अब हामीले कम्लरी भेट्ने भनेको शहरमै हो । त्यसैले अहिलेका घरेलु कामदार र कम्लरी एकै हो ।

 

राज्यले मुक्त घोषणा गरेका कम्लरीहरुलाई तपाईंको सुझाव के छ ?
राज्यले मुक्त घोषणा गर्नु ठूलो कुरा होइन । उनीहरुको पुनर्स्थापना महत्वपुर्ण कुरा हो । मुक्त कम्लरीहरु अहिले पनि पढ्न पाएका छैनन् । पढेका बहिनीहरुलाई रोजगारीको कुनै व्यवस्था छैन । अहिले पनि उनीहरु असुरक्षित छन् ।


कम्लरीहरु शान्ता चौधरी जस्तो सफल बन्न के गर्नु पर्छ ?
कम्लरी बहिनीहरु अहिले आफ्ना अधिकारका निम्ति निकै सचेत छन् । कहिले कुनै बहिनीले अमेरिकामा पुरस्कार पाउँछन् कहिले बेलायतमा गएर प्रशंसा पत्र ग्रहण गर्छन । विभिन्न ठाउँमा कम्लरीहरु स्थापित हुँदै गएको सुन्दा निकै खुसी लाग्छ । तर उहाँहरु राजनीतिमा लाग्नुभएको छैन । सबै समस्याहरुको समाधान गर्ने भनेको राजनीतिले हो । चाहेर वा नचाहेर हामी राजनीतिबाट टाढा जान सक्दैनौं । राज्यका हरेक निकायमा प्रतिनिधित्वको कुरा छ । उनीहरु पनि राजनीतिमा लागेर आफ्ना समस्या समाधान गर्न, आफ्ना मुद्दा स्थापित गर्न वा अधिकारका लागि दबाव दिन जरुरी छ ।

 

शान्ता चौधरी जस्तो बन्नुस भनेर उहाँहरु बन्ने कुरा पनि भएन । तर मैले यति गर्न सकेको छु भने उहाँहरुले पनि अवश्य गर्न सक्नुहुन्छ । मलाई हेरेर पनि उहाँहरु राजनीतिमा आउन सक्नुहुन्छ । उहाँहरुसंग पनि आफ्नै कथा छ, पीडा छ, अनुभव छ ।

 

आफ्नै जीवनलाई फर्केर हेर्दा कस्तो लाग्छ ?
जीवन संघर्ष हो । दुःख त मेरो साथी जस्तै लाग्छ । दुःखले मानिसलाई जीउन सिकाउँदो रहेछ । दुःखले नै मान्छेलाई जित्न सिकाउँदो रहेछ । दुःखले नै मानिसलाई सफल बनाउँदो रहेछ । त्यसैले जीवन भनेको ‘आनी’ले गाएको गीतजस्तो काँडा पनि हो, फूल पनि हो । सबै खालको अनुभव भएको मान्छे परिपक्व बन्छ । मेरो जिन्दगी दुःखै दुःखको पहाड हो ।

 

अन्त्यमा केही भन्नु छ ?
महिलाहरुले म महिला हो, केही गर्न सक्दिन, मैले पढे लेखेको छैन भनेर मन खिन्न नपार्नु । सिक्नलाई उमेरले छेक्दैन । म आफै पनि एउटा उदाहरण हुँ । बाल्यकालमा पढ्न पाइएन । बुढेसकालमा रहर पुरा गर्दैछु । त्यसैले अनुभव पनि ठूलो कुरा हो । पढेका मान्छेले मात्रै जानेका हुन्छन्, उनीहरुले मात्रै बुझेका हुन्छन् भन्ने होइन । अनुभवले पनि धेरै कुरा बुझाउँछ । पढ्न नपाउनु भएका दिदी बहिनीहरुले हीनताबोध नपाल्नुहोला । व्यक्तिगत जीवन त जसले पनि जीउँछ । आफ्नो लागि त जो पनि बाँचेको हुन्छ । अर्काको निम्ति पनि बाँच्ने गरौं । अरुको लागि बाँच्दा त्यसको छुट्टै मजा आउँछ ।

 

प्रस्तोता : टीका विष्ट

२०७४ साउन ९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्