Birendranagar Municipality

बुलबुले उद्यानभित्र हुन्छ ‘ड्रग्सको डील’

बुलबुले उद्यानभित्र हुन्छ ‘ड्रग्सको डील’

सीता वली
१४ साउन । सुर्खेतको बुलबुले उद्यान पर्यटकको केन्द्र त हो नै तर यहाँ हुने केही अकल्पनिय घटनाले सुरक्षा चुनौति थपिएको छ ।


‘उद्यानभित्र ‘बाइक स्टन्ट’ गर्ने र लागूपदार्थ किनबेचको ‘डिल’ गर्ने लगाएतका गतिविधिले बुलबुलेभित्र सुरक्षा चुनौति छ’ सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले सेरोफेरोसंग भने, ‘उद्यानभित्र कतिपय व्यक्तिहरुले पर्यटकलाई सताउने, महङ्गा फूल तथा बिरुवाका बेर्ना चोरी गरीरहेका छन् ।’ उनका अनुसार उद्यानबाट साइकस, धुपी जस्ता बिरुवाहरु चोरी भएका छन् ।


उद्यानमा कार्यरत कर्मचारीहरुले उद्यानभित्र छिटपुट रुपमा चोरी हुने गरेको बताए । बुलबुलेमा नुहाउन लागेका व्यक्तिहरुका सामान तथा पर्सहरु पनि बेलाबेलामा हराउने गरेका छन् । केही स्थानीय युवाहरु टिकट नै नकाटी पार्क भित्र प्रवेश गर्ने गरेका छन् । ‘टिकट लिनुस् भन्दा उल्टै थर्काउँछन्’ एक कर्मचारीले भने । यसका लागि टिकट काउन्टर मूल गेटसंगै हुनुपर्ने कर्मचारीको भनाई छ ।


सुरक्षा चुनौति भएको बुलबुले उद्यानलाई राम्रो र रमणीाय बनाउने सबैको चाहाना बमाेजिम पछिल्लो समय नगर विकास समितिले द्रुत गतिमा काम गरिरहेको छ । तर यहाँ हुने अापराधिक घटनाका कारण उद्यानलाई क्षति पुगेको समितिको ठम्याइ छ । उद्यानमा प्रहरीले गस्ती गरेमा चुनौति कम हुनसक्ने कोइरालाको भनाई छ ।


यस विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मोहन कुमार आचार्यले नगर प्रहरीले दिनमा चार पटक गस्ति गरीरहेको बताएका छन् । उद्यानका कर्मचारीले भने आफूलाई यस विषयमा केही थाहा नभएको बताउँछन् । बुलबुलेको सुरक्षाको लागि प्रहरी खटाउने सम्बन्धमा प्रहरी प्रमुख आचार्य भन्छन् ‘हामीसंग जनशक्ति पनि कम छ । बुलबुलेमा सुरक्षा जरुरी छ भन्ने कुरा यसअघि आएको थिएन । अब माग गर्छु ।’


पछिल्लो समय अध्यक्ष कोइराला उद्यानको समग्र विकासमा लागि परेका छन् । शहरी विकास मन्त्रालयबाट प्राप्त ५ करोड रुपैयाँ बुलबुले उद्यानको तारबार, भित्री बाटाहरुको स्तरोन्नति, पिकनिक स्थलको निर्माण लगायत अन्य निर्माण कार्यका लागि टेन्डर आव्हान गरिएको कोइरालाले जानकारी दिए ।


स्थानीय संघसंस्थासंग छलफल गरी उद्यानभित्र आ-आफ्नो नाममा बगैचा बनाउन समेत समितिले आव्हान गरेको छ । बुलबुले सेरोफेरो लाइन्स, मध्यपश्चिम ट्रक तथा ट्याक्टर व्यवसायी संघ लगाएतका संस्थाहरुले हिंड्ने बाटो बनाइदिने भएका छन् । यसैगरी सामूदायिक सुधार संस्था र प्रहरी सेवा केन्द्रले पनि शान्ति बाटिका र चिल्ड्रेन पार्क निर्माण गर्ने छन् ।


समितिले उद्यानलाई सुन्दर बनाउनुका साथै मध्यपश्चिमाञ्चल विश्वविद्यालयसंग सहकार्य गरी जैविक विविधताको अध्ययन क्षेत्र बनाउने योजना समेत अघि सारेकाे छ । यस योजना अन्तर्गत उद्यानभित्र चरा, सर्प, विरुवा कति किसिमका छन् र तिनको संरक्षणका लागि पहल समेत गरिनेछ । । उद्यानलाई प्लाष्टिक मुक्त क्षेत्र बनाउने र पाेखरीकाे क्षेत्र विस्तार गर्ने पनि समितिले तयारी गरेको छ ।

Bulbule stunt 2

निषेधित क्षेत्रमा मोटरसाइकल चलाउँदै । ।

२०७४ साउन १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्