डा. आनन्दप्रसाद सुवेदी
सन् २०१३ मा सि जिन पिङ चीनको राष्ट्रपति नियुक्त भएपछि वान बेल्ट वान रोड (ओवर) को चर्चा शुरु भएको हो । चीनको यो विशाल परियोजना प्राचीन सिल्क रोडको आधुनिक संस्करण हो जो अहिलेका चिनिया राष्ट्रपतिले बडो महत्वका साथ अघि सारेका छन् । चीनले पाँचौं शताब्दी देखि (आजभन्दा लगभग २२/२३ सय वर्ष अघि) दक्षिण एशिया हुदै युरोपसंग ब्यापार गर्दथ्यो । तत्कालिन समयमा रेशमको ब्यापार बढि हुने भएकोले यो मार्गलाई रेशम मार्ग अर्थात सिल्क रोडको नामले चिनिन्थ्यो । यो सडकको पुरानो रुट अहिलेसम्म स्पष्ट नभएपनि चीनले यो पुरानो ब्यापार रुटलाई पुनःजीवित गर्न खोजेको छ ।
हजारौ वर्ष पहिले ब्यापारीहरु सिल्क रोडबाटै चीनदेखि युरोपसम्म ब्यापारिक यात्रा गर्दथे । विशेष गरी चीनले यो रेशमी सडक मार्फत मध्य एशिया हुदै रोम सम्म ब्यापार पुर्याएको थियो । यो जमीनको बाटो थियो । चौधौं शताब्दीमा यो रुट बन्द भएको मानिन्छ । जब सामुन्द्रीक बाटो पत्ता लाग्यो यो बाटो बन्द भयो । समुन्द्री बाटो पत्ता लागेपनि अमेरिका पत्ता नलागेको समय भएकाले यो बाटोमा अफ्रिकी मुलुकहरु पर्दैनथे । जब पानी जहाजको विकास भयो र ठूलो मात्रामा समुन्द्री मार्गबाट ब्यापार हुन थाल्यो यो बाटो साउथ चाइना सि, हिन्द महासागर, लालसागर हुँदै इजिप्टमा जमीनमा आई फेरी मेडिटेरिनियन सागर हुँदै युरोपका शहरहरुमा जान्थ्यो ।
हाल हजारौ बर्ष पछि विश्वमा भएको विकास, उत्पादनको बृद्घि, बस्तु र सेवामा भएको विश्वव्यापीकरणले पूर्व र पश्चिमलाई जोड्ने सञ्जालको आवश्यकता महशुस गरि चीनले आफ्नो उत्पादनको बजार ब्यवस्थापन गर्न र विश्वमा एशियाको बढदो प्रभावलाई प्रमाणित गर्न यो विशाल परियोजना अगाडी सारेको छ । जहाँ सिल्क रोडले एशिया, अफ्रिका, मध्य एशिया र युरोपलाई जोड्ने छ ।
सिल्क रोडलाई नयाँ तरिकाले विकास गर्ने चीनीया परियोजनाको नाम हो ओबर । यो परियोजना एक देशलाई अर्काे देशसंग जोड्ने मात्र होइन बरु एक महादेशलाई अर्काे महादेशसंग जोड्ने महत्वाकांक्षी विशाल परियोजना हो । संसारको ६५ प्रतिशत जनसंख्यालाई सडक मार्ग र त्यसमाथि हुने ब्यापार र भिन्न भिन्न देशका मानिस बीचको सम्वन्ध जोड्ने लगायत विशाल आर्थिक गतिशिलताको लक्ष्य लिएको यो परियोजना चीन सरकारको अग्रसरता र योजनामा अगाडि सारिएको छ जहाँ ओबिको मतलब सिल्क रोड इकोनोमि वेल्ट (एसआरइबि) हो जो पुरै स्थल मार्ग भएर गएको छ । यो चीनको जियान शहरबाट शुरु हुन्छ । यो जियान बाट शुरु हुदै मध्य एशिया, मध्यपूर्वी एशिया हुँदै युरोप पुग्दछ । यसैगरी ओआरको मतलब मेरिटाइम सिल्क रोड हो जो दक्षिण चीनको गोन्जाउ शहरबाट शुरु हुन्छ र मलेशिया, हिन्द महासागर, लाल सागर हुँदै युरोप पुग्छ । यो सामुन्द्रिक रुट हो । यो रुटमा एशिया, अफ्रिका, मध्य एशिया र युरोप सवै पर्दछन् ।
प्राचीन सिल्क रोडको रुटमा नेपाल पर्दैनथ्यो र अहिलेको प्रस्तावित रुट जो चीनिया समाचार संस्था सिन्ह्वाले प्रस्तुत गरेको छ त्यसमा पनि पर्दैन । तर, पछिल्लो समय चीन सरकारले नेपाललाई पनि त्यो विशाल परियोजनाको प्रभाव क्षेत्र भित्र पारेको छ । नेपाल ओवरको मुख्य मार्गमा नभई क्षेत्रीय रुट अन्तरगत परेको छ । यो तथ्यलाई नेपाल सरकार र चीन सरकारबीच विभिन्न स्तरमा भएका सम्झौताले पुष्टि गर्दछ । उक्त दुई देशीय सम्झौता अनुसार यो परियोजना अन्तर्गत काठमाडौंलाई चीनको ल्हासा शहरसंग जोड्ने योजना छ । यो परियोजनाको क्षेत्रीय रुटमा अरुपनि थुप्रै देशहरु छन ति मध्ये एक पाकिस्तान पनि हो । भारत यो परियोजनाको मूल प्रभावित मुलुक भएता पनि यसले हालसम्म ओवरको विषयमा औपचारिक रुपमा केही बोलेको छैन । ओवरको रुटमा केही देशहरु परेका छन भने केही परेका छैनन् । यद्धपी चीनले यस परियोजनालाई निरन्तर रुपमा चलिरहने परियोजनाको रुपमा लिएको हुँदा द्वीदेशीय सहकार्य र सम्झौतको आधारमा यसलाई अगाडी बढाउने देखिन्छ ।
यो परियोजना समाप्त गर्ने कुनै समय सीमा छैन । परियोजनामा आवश्यकता अनुसार सडक, रेलवे, तेल र ग्यास पाइप लाइन बिस्तार, बन्दरगाह र विमानस्थल निमार्ण गर्ने तथा समग्र विश्व अर्थतन्त्रमा उल्लेख्य योगदान दिने लक्ष्य लिएको बताइन्छ । तसर्थ, यो परियोजना संचालन गर्न ब्यापक मात्रामा कुटनैतिक सहकार्यको आवश्यकता देखिन्छ । यो परियोजना सञ्चालनमा बहुपक्षीय सहकार्य भन्दा पनि आवश्यकता अनुसार चीन र सम्वन्धित देश बीचको सहमति र सम्झौता अनुसार अगाडी बढाउने नीति चीन सरकारले लिएको छ ।
सामुद्रिक ब्यापारका सम्बन्धमा विचार गर्दा उन्नाइसौं शताब्दीमा हिन्द महासागरबाट सबै भन्दा बढी ब्यापार हुने गर्दथ्यो । बिसौं शताब्दीमा प्रशान्त महासागरबाट हुने गर्दथ्यो भने एक्काइसौं शताब्दीमा हिन्द महासागरबाट हुने अनुमान ओवर परियोजनाले गरेको छ ।
यस परियोजनाको प्रमुख आर्थिक श्रोतको रुपमा एशियाली पूर्वाधार लगानी बैंक रहेको छ जुन चीन सरकारकै अग्रसरतामा स्थापना गरिएको हो र यसको मुख्यालय पनि चीनमै छ । दोश्रो श्रोतको रुपमा चाइना विकास बैंक छ । तेस्रो सहयोगी संस्था पुरानो सिल्क रोडलाई ब्युँताउन चीन सरकारले खडा गरेको सिल्क रोड कोष हो जसमा ४० विलियन अमेरीकी डलर छ । यसैगरी चौथो श्रोतको रुपमा परियोजनाको प्रभाव मुलुकहरुसंग हुने कुटनीतिक र वित्तिय सम्झौता हो । यसरी चीनले ओवर परियोजना मार्फत प्राचीन सिल्क रोडको स्थल र जल मार्गहरुलाई पुन सञ्चालनमा ल्याउन चाहन्छ ।
अहिले आर्थिक विकासका गतिविधि एशिया महादेशमा केन्द्रित भएको छ । अन्तर्राष्ट्रिय व्यापार दिनानुदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय व्यापारबाट केही देशहरु मात्र लाभान्वित भएको पाइन्छ । केही एशियाली मुलुकहरुमा अन्तर्राष्ट्रिय व्यापारको लागि अत्यावश्यक सडक सन्जाल समेत नभएको वर्तमान स्थितिमा यो परियोजना समग्र विकासको लागि उपयोगी हुने देखिन्छ । यसैगरी नेपालको उत्तरी खण्डबाट सडक, रेलवे लगायत ग्यास र तेलको पाइप लाइन नेपाली शहरसम्म ल्याउन सकेको खण्डमा बैदैशिक ब्यापारको लागि भारतसंगको अति निर्भरता अन्त्य हुनुका साथै नयाँ व्यापारिक विकल्पहरुको पनि खोजी गर्न सकिने अवस्था आउँछ । यस्तो अवस्थामा नेपाल भारत सम्बन्ध तथा नेपालको अन्य मुलुकसंगको द्विदेशीय सम्वन्धलाई नयाँ ढंगले परिभाषित गर्ने अवसर प्राप्त हुन सक्ने देखिन्छ ।
प्रतिकृया दिनुहोस्