Birendranagar Municipality

जागीरे ‘लाहुरे’ बने उद्यमी

जागीरे ‘लाहुरे’ बने उद्यमी

सेरोफेरो
१५ साउन । सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर २ का विजय चन्द ३२ वर्षका भए । उनले १९ वर्षमा नेपाली सेनाको जागीर खाएर ‘एक बारको जोवन’मा लाहुरे हुने शोख पनि पुरा गरे । जागीरको शान र देशको सेवा गर्दा मन यसै फुरुङ्ग हुने ।


बढ्दो महङ्गीले गर्जो धान्न धौ धौ हुन थाल्यो । उनको जीवन सापटीमा चल्न थाल्यो । ‘बाइकमा पेट्रोल सधै रिजर्भमा, खल्ती रित्तो, मोबाइलमा ब्यालेन्स जिरो । सरसापटीमा काम चलायो, तलब बुझ्यो, तिर्न ठिक्क ।’ चन्दले जागिरे जीवनको कहानी सुनाए । हुनत धेरैले त्यही जागीरबाट घरखर्च धानेका छन् । परिवार पालेका छन् । उनलाई जागीर ‘नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ भनेझैं भयो । गाउँमै केही न केही त गरौंला नि भनी ७३ सालमा जागीरबाट राजिनामा दिए ।

Goat 2चिसो लागेका बाख्रालाई औषधि खुवाउँदै ।  

साथीभाई आफन्तले सरकारी जागीर छोडेकोमा चित्त पनि दुःखाए । ‘जागीर कहाँ पाउँ? भन्ने भएको बेला पेन्सन पाक्नै आँटेको जागीर किन छोडेको?’ चौतर्फि दबाव आउन थाल्यो । हरेक मानिसको आफ्नै रुची हुन्छ । विजयको लगाउने, खाने, साथीभाईसंगको उठबस हेर्दा गाउँ फर्केर खेती किसानी गर्ला भनेर कसैले चिताएका पनि थिएनन् । तर सबैले सोचेको भएन ।


उनले आफू जन्मेको गाउँमै बाख्रा पाल्ने निधो गरे । अहिले उनी साविक डाँडाखाली ४ स्थित ‘भिक्टोर बोयर फर्म’ मा भेटिन्छन् । विजय भन्छन् ‘युवाहरुले पैसा कमाउन, सक्षम बन्न, र उज्वल भविष्यको लागि उद्यमी बन्नुपर्छ । जागीर त उपाय नभएकोले खाने हो ।’ गाउँलेहरु व्यङ्ग्य गर्छन्– हुँदाखाँदाको स्थाई जागीर छाडेर बाख्रा पाल्ने के गतिले भेटायो ! तर उनले बाख्रा पालनबाटै आफ्नो भविष्य उज्यालो देखेर ७४ वैशाखदेखि फर्म शुरु गरे ।

Goat 3बाख्रालाई दाना खुवाउँदै ।

बोयर बाख्रा एक वर्षमा ५२ किलोको हुन्छ । बढीमा ५४ किलोसम्म हुने यो जातको बाख्राको मासु मधुमेह तथा प्रेसरका रोगीहरुलाई पनि स्वस्थकर मानिन्छ । ३० वटा बाख्राबाट शुरु गरेको विजयको फर्ममा अहिले ५० वटा बाख्रा छन् । शुरुमा सबै बोयर जातको ल्याउन नसकिने भएकोले अहिले दुई वटा बोयर र अरु गाउँघरमा पाइने स्थानीय काठे जातका बाख्रा पालेको उनले बताए । उनका अनुसार बोयर बाख्राको मूल्य जन्मनासाथ ६५ हजार पर्छ ।


पुर्ख्यौली जग्गा १० रोपनी दर्ता र करीब चार विगाहा ऐलानीमा शुरु गरेको उक्त फर्ममा ३० लाख लगानी गर्ने सोच रहेको चन्दले बताए । उनका अनुसार फर्ममा हालसम्म नौ लाख खर्च भैसकेको छ । फर्ममा तीन जना कर्मचारी छन् भने बाख्राको स्वास्थ्योपचार सम्बन्धी सहयोग छिमेकी डम्मर चन्दले गरिरहेका छन् । 

Goat 4पहिलोपटक निर्माण गरेको बाख्राको खोर ।

घाँसको पूर्व योजना नभएकोले चैत वैशाखमा समस्या हुने हो कि भन्ने डर छ उनलाई । ‘पहिले घाँसको योजना नभएकोले अप्ठेरो भएको छ । अहिले डालेघाँस लगाउने काम पनि गरिरहेको छु’ चन्दले भने । बाख्रा पालन गर्ने सोच भएका व्यक्तिलाई फर्म शुरु गर्नुभन्दा कम्तीमा दुई वर्ष अघि नै घाँस लगाउन पनि उनको सुझाव छ ।


‘जागीर खाँदैदेखि बाख्रा पाल्ने योजना थियो । शान्ति सेना गएर आएँ तर काम गर्न विदेश जाने सोच कहिल्यै आएन’, चन्दले भने– ‘सिम्ता क्षेत्रलाई चिनाउनको लागि पनि मैले आफ्नै गाउँमा व्यवसाय शुरु गरेको हुँ ।’ नाम र दाम दुबै हुने भएकोले अन्य युवाहरुलाई समेत आफ्नै गाउँमा रुची र क्षमता अनुसारको उद्यम शुरु गर्न पनि उनले आग्रह गरे ।

२०७४ साउन १५ मा प्रकाशित

प्रतिकृया दिनुहोस्