Birendranagar Municipality

पहिरोमा पुरिए एकै घरका तीन बालवालिका

पहिरोमा पुरिए एकै घरका तीन बालवालिका

तस्बिरः पवित्रकुमार शाही

सेरोफेरो

१६ साउन । ठूलो ढुंगा घरमा खस्दा एकै घरका तीन बच्चा पुरिएका छन् भने ७ जना घाइते भएका छन् । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ पोरिवन काब्रागाउँमा बुँदे सार्कीको घरभन्दा ठूलो ढुंगा खसेपछि तीन बालबालिका पुरिएका हुन् ।


आइतबार राति भीरबाट खसेको ढुंगाले स्थानीय सार्कीका २ छोरी र एक छोरा पुरिएका हुन् । १३ वर्षीया ललिता, ९ वर्षीय लंक र ५ वर्षीया कल्पना ढुंगाभित्रै पुरिएका आफन्तले बताएका छन् ।


उक्त ढुंगाले च्याप्दा बुँदे, उनकी श्रीमती बेलु सार्की र छिमेकी सर्मिला सार्कीसहित सात जना घाइते भएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । 
गम्भीर घाइते बुँदे, बेलु र शर्मिलालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । ढुंगाले थिचिएका तीन बालबालिकाको खोजी कार्यमा नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।


ढुंगा खसेको दलित वस्ती हो । अध्यक्ष शाहीका अनुसार यो गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । उक्त जोखिममा रहेको वस्ती नै अन्यत्र सार्नुपर्ने अध्यक्ष शाहीको भनाई छ । बस्ती सार्नका लागि जिल्ला प्रशासनसँग खबर गरिएको उनले बताए । 


ठूलो ढुंगा सार्कीको घरमा आएर अड्किएको र ढुंगा हटाउँदा गाउँका अन्य घरहरु पनि जोखिममा पर्नसक्ने भएकाले उद्धारमा ढिलाई भइरहेको प्रहरीले बताएको छ । 

 

२०७४ साउन १६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्