Birendranagar Municipality

'शैक्षिक गुणस्तरका लागि सम्बन्धन'

'शैक्षिक गुणस्तरका लागि सम्बन्धन'

सेरोफेरो
२० साउन । मध्य–पश्चिमाञ्चल विश्वविद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पुराना स्थापित क्याम्पसलाई सम्बन्धन दिन लागेको जानकारी गराएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालय पदाधिकारीले उक्त कुरा बताएका हुन् ।


विश्वविद्यालयले सम्बन्धन दिन लागेको विषयमा सबैको ध्यानाकर्षण भएको भन्दै विश्वविद्यालय प्रशासनले सरोकारवालाहरुलाई वास्तविक कुराको जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको रजिष्ट्रार महेन्द्रकुमार मल्लले जानकारी दिए । उनले भने– ‘विदेशी विश्वविद्यालयहरु आक्रामक रुपमा नेपालमा भित्रिएका छन् । नेपाली विश्वविद्यालयले पनि गुणस्तरीय शिक्षा दिन सक्छन् भन्ने प्रमाणित गर्न जरुरी छ ।’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न स्थापित क्याम्पसलाई पहिलो चरणमा सम्बन्धन दिन लागिएको पनि मल्लले बताए । उनले भने– ‘यस क्षेत्रका आवश्यक पूर्वाधार भएका क्याम्पसलाई क्रमशः सम्बन्धन दिनेछौं ।’


हाल विश्वविद्यालयले व्यावसायिक तर्फको पिएचडि र एमफिल तथा प्राविधिक तर्फको एमईको सम्बन्धन प्रकृया थालेको छ । सम्बन्धन प्रकृया विश्वविद्यालयको ऐन नियम बमोजिम नै भएको उपकुलपति उपेन्द्रकुमार कोइरालाले बताए । उनले भने– ‘हामीले कानुन बमोजिम नै सम्बन्धन दिन लागेका हौं । पूर्वाधारयुक्त क्याम्पसलाई सम्बन्धन दिंदा विश्वविद्यालयको शैक्षिक गुणस्तर बढ्छ । शिक्षक तथा विद्यार्थी आदान प्रदान कार्यक्रम गर्न सकिन्छ । यसले विश्वविद्यालयको नाम पनि उँचो बनाउँछ ।’

 

ऐन नियमको अधीनमा रही विश्वविद्यालय कार्यकारी परिषद्को निर्णय नं ६५ मा सम्बन्धन सम्बन्धि निर्णय गरिएको रजिष्ट्रार मल्लले बताए । ‘हामीले बिद्यार्थी लगायत सरोकारवालालाई समेत राखेर सम्बन्धन सम्बन्धी जानकारी गराएका छौं । तैपनि विद्यार्थी किन पटक पटक आन्दोलनमा छन् ?’ उनले प्रश्न गरे ।


मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को परिच्छेद ७ को दफा १९ बमोजिम निजी क्षेत्रका कुनै क्याम्पसलाई विश्वविद्यालयले सम्बन्धन दिन सक्ने व्यवस्था छ ।

२०७४ साउन २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्