Birendranagar Municipality

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी

भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी

सेरोफेरो
२१ साउन । बहुप्रतिक्षित भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रकी रेणु दाहाल मेयर पदमा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उमेदवार देवी ज्ञवालीलाई दुई सय तीन मतले पराजित गरी मेयर बनेकी हुन् । 


नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त उमेदवार दाहालले ४३ हजार एक सय २७ र ज्ञवालीले ४२ हजार नौ सय २४ मत प्राप्त गरेका थिए । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल विजयी भएसंगै महानगरमा माओवादी केन्द्रले खाता खोलेको छ । मुलुकका पाँच महानगरमध्ये काठमाडौं र पोखरामा एमाले तथा ललितपुर र बिराटनगरमा काँग्रेसले यसअघिनै जित हात पारेका छन् ।


स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत गत बैशाख ३१ गते भरतपुरमा निर्वाचन सम्पन्न भएको थियो । २९ वडा रहेको भरतपुरको वडा नम्वर १९ को मतगणनाको क्रममा माओवादी केन्द्रका कार्यकर्ताले ९० वटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले साउन २० गते पुनः निर्वाचन गराएको थियो ।


पहिलेनै मतदान भएको तर मतगणना बाँकी रहेको २० नम्वर वडाको निर्णायक मतले दाहाललाई विजयी बनाएको हो । यसअघि वडा नम्वर १९ बाट नेकपा एमालेका उमेदवारलाई बढि मत खसेको थियो भने पूनःमतदानबाट दाहालले बढि मत प्राप्त गरिन् ।

 

यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनका दुबै उमेदवार विजयी भएपछि भरतपुर महानगर हाँक्ने मेयर र उपमेयर दुबै महिला भएका छन् ।


भरतपुरमा आइतबार हुने विजय जुलुसमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी हुने जनाइएको छ ।

२०७४ साउन २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्