Birendranagar Municipality

भारतसंग विशिष्ट 'बिजनेस डिल' गरौं : पाण्डे

भारतसंग विशिष्ट 'बिजनेस डिल' गरौं : पाण्डे

सेरोफेरो
२४ साउन । नेपालको समग्र विकासका लागि भारतसंग विशिष्ट व्यापारिक सम्झौता गर्नुपर्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागमा मंगलबार अतिथि कक्षा लिंदै पाण्डेले उक्त कुरा बताएका हुन् ।


‘नेपाल भारत सम्बन्ध विशिष्ट प्रकारको रहेको कुरा अस्वीकार गर्न सकिंदैन । तर आफ्नो हित अनुकुल हामीले भारतसंग विभिन्न व्यापारिक सम्झौता गर्नुपर्छ’, उनले भने- 'नेपालले अब निर्यातमुखी अर्थतन्त्र अबलम्बन गर्नुपर्छ । नेपालले निर्यात गर्न सक्ने भनेको पानी र विजुली हो । उत्पादित विजुली वा पानी बेच्दा हाम्रो राष्ट्रियता कमजोर हुँदैन बरु बलियो हुन्छ ।’

Guest Lecture

नेकपा एमालेका स्थायी समिति सदस्य समेत रहेका पाण्डेले नेपालको समग्र विकासका लागि भु–उपयोग सम्बन्धी नीति, युवालाई विदेश पलायन हुनबाट रोक्न विशिष्ट प्रकारको नीति निर्माण तथा उद्यमशिलताको विकास गर्नुपर्ने बताए । ‘अबको लगानी भविष्यका लागि गरिनुपर्छ त्यसैले शिक्षा, अनुसन्धान र विकासमा लगानी थप्नुपर्छ’, उनले भने–‘म अर्थमन्त्री हुँदा सबैभन्दा बढी १७ प्रतिशत शिक्षामा बजेट विनियोजन गरेको थिएं । तर त्यसपछिका अर्थमन्त्रीले त्यसलाई निरन्तरता दिएनन् ।’

 

सोही विभागको स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी जंगबहादुर डाँगीले उक्त अवसरमा नेपाल भारत मैत्री सन्धीको 'चिरफार' गरेका थिए । उनले सन्धीमा रहेका असमानता अन्त्य गर्न उक्त सन्धीको पुनर्लेखन गर्न सुझाव दिएका थिए । नेपालको आर्थिक कुटनीति विषयको उक्त अतिथि कक्षाबाट लाभान्वित भएको विद्यार्थी सुमन धितालले बताए ।

Guest Lecture Series

नियमित जसो आयोजना गरिने अतिथि कक्षामा यसअघि एमाले उप-महासचिव घनश्याम भुसाल, नयाँ शक्ति संयोजक बाबुराम भट्टराई, मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, बेदुराम भुसाल लगायतले प्रवचन दिइसकेको उक्त विभागका प्रमुख तेजविक्रम बस्नेतले सेरोफेरोलाई बताए ।


सुरेन्द्र पाण्डे जस्तो सफल अर्थमन्त्रीलाई विश्वविद्यालयमा स्वागत गर्न पाउँदा आफू निकै खुशी भएको कार्यक्रमका प्रमुख अतिथि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले बताए । विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्ल विशिष्ट अतिथिको रुपमा कार्यक्रममा उपस्थित थिए ।

२०७४ साउन २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्