सेरोफेरो
२७ साउन । स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको सम्झनामा दैलेखमा स्मृति सभाको आयोजना गरिएको छ । थापाको १३ औं बार्षिक स्मृतिमा नेपाल पत्रकार महासंघ दैलेखले उक्त सभाको आयोजना गरेको हो ।
स्मृति दिवसका अबसरमा शुक्रबार बिहान दैलेख बजारमा प्रभातफेरी निकालिएको थियो । सोही अवसर पारी पत्रकार थापाको सम्झनामा उनको अर्धकदको शालिक स्थापना गरिएको छ । दैलेख क्षेत्र नंम्वर २ का सांसद लक्ष्मी पोखरेल र स्वर्गीय पत्रकार थापाकी धर्मपत्नी लक्ष्मी थापाले संयुक्त रुपमा उक्त शालिकको अनावरण गरेका हुन् ।
माओवादी द्वन्द्वका बेला दैलेख बजारमा खानेपानीको विवाद मिलाउने प्रयत्न गर्दा उनलाई अपहरण गरी तत्कालीन विद्रोही पक्षले २०६१ साल साउन २७ गते हत्या गरेको थियो ।
सांसद पोखरेलले पत्रकार डेकेन्द्रराज थापाले दैलेख जिल्लामा पुर्याएको योगदानको चर्चा गरेका थिए । दैलेखमा क्रियाशील सञ्चारकर्मीहरुले स्वर्र्गीय थापाले देखाएको बाटोमा लाग्नुपर्ने दैलेख क्षेत्र नम्बर १ का सांसद अम्मरबहादुर थापाले बताए ।
महासंघका अध्यक्ष चक्र केसीले स्वर्र्गीय थापाले देखाएको बाटोमा अगाडी बढ्न सबै पत्रकारलाई आग्रह गर्नुका साथै व्यावसायिक पत्रकारिताको विकासको लागि महासंघ प्रतिवद्ध रहेको जनाए । उक्त सभामा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, विभिन्न राजनीतिक दलका प्रमुख, नागरिक समाजका प्रतिनिधि, पत्रकार महासंघका पूर्व अध्यक्षहरु, जिल्ला स्थित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्