Birendranagar Municipality

राजनीतिक भेट गर्दै चिनियाँ उपप्रधानमन्त्री

सेरोफेरो
३१ साउन । नेपालको तीन दिने औपचारिक भ्रमणमा आएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोलीले राजनीतिक भेटघाट शुरु गरेको छ । वाङले मंगलबार बिहान १० बजे उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसंग पहिलो औपचारिक भेट गरेका छन् ।

 

चिनियाँ राष्ट्रपति सि जिनपिङको सन्देश लिएर आएका वाङको सम्मानमा मन्त्री गच्छदारले दिवा भोजको समेत आयोजना गरेका छन् । वाङले दुई देशबीच भएका सम्झौता कार्यान्वयन र दुई पक्षीय हितबारे नेताहरुसंग छलफल गर्ने बताईएको छ ।

 

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा र वाङले बसन्तपुरस्थित ९ तले दरबारको बिहान उद्घाटन गर्ने कार्यक्रम छ । वाङ नेतृत्वको उच्चस्तरीय टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग अपरान्ह ३ बजे र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग अपरान्ह ४ बजे भेटवार्ता गर्ने कार्यक्रम छ ।


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासंग टोलीले बुधबार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । तीन दिने भ्रमणका क्रममा वाङ नेतृत्वको टोली सोमबार नेपाल आएको हो ।

२०७४ साउन ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्