Birendranagar Municipality

निर्वाचन आयोगको आलोचना

सेरोफेरो
४ भदौ। निर्वाचन आयोगले मतदाता नामावली संकलनका क्रममा नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिसँग मिलेर कार्यालय समयपछि आफूखुशी काम गरेको भनिएको विषयले सदनमा प्रवेश पाएको छ ।

 

व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुखसंग समय लिएर सदन र सरकारको ध्यानाकर्षण गराउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले बूढानीलकण्ठ नगरपालिकाका एमालेका निर्वाचित एक सदस्यका घरमा आयोगका कर्मचारीको मिलेमतोमा नामावली संकलन गरेको पाइएको र आयोगका ल्यापटप लगायत उपकरण प्रहरीले बरामद गरेको जानकारी सदन समक्ष गराए । 'एमालेले निर्वाचन आयोगले तोकेको समयभित्र कार्यालयमा भीड जम्मा गराउने अनि मध्यरात आफ्नो निवासमा कर्मचारीलाई लगेर मतदाता परिचयपत्र बनाउने काम गर्‍यो', उनले भने- 'निर्वाचन आयोगमाथि यस्ता कार्यले प्रश्न उब्जिएको छ ।'

 

शनिबार राति बूढानीलकण्ठमा स्थानीयवासीले एमालेबाट निर्वाचित वडाध्यक्ष र निर्वाचन कार्यालयका कर्मचारीलाई मतदाता परिचयपत्र धमाधम भरिरहेका अवस्थामा नियन्त्रणमा लिएर आयोगमा बुझाएका थिए । उनीहरूलाई कारबाही गर्न सांसद थापाको माग थियो ।

 

बैठकमा एमालेका शेरबहादुर तामाङ र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्रीबाट यसै साता हुनलागेको भारत भ्रमणका बेला उताबाट एकतर्फी रुपमा बनेका बाँध र तटबन्धका कारण नेपाली भूमी डुबानमा परेकाले त्यसको दीर्घकालीन समाधानका निम्ति भारतीय पक्षसँग गम्भीर वार्ता गर्नुपर्नेमा जोड दिए । रासस

२०७४ भदौ ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्