संयुक्त राष्ट्रसंघले उत्तर कोरीयाको आणविक कार्यक्रमलाइ लिएर लगाएको नयाँ आर्थिक प्रतिबन्धपछि उत्तर कोरीया आफ्नो बिबादित आणबिक कार्यक्रमबाट पछाडी हट्नुको साटो उल्टो अमेरीका लगायत शक्ति राष्ट्रसंग आक्रोशित भएको छ । यस घटना पछि आणविक शक्ति राष्ट्रका आ-आफ्ना स्वार्थ र टकरावले विश्वमा संकटको वातावरण सृजना गर्ने देखिएको छ । विगत लामो समयदेखि उत्तर कोरीयाको बिबादित आणविक कार्यक्रम प्रति अमेरीका र्इतरका राष्ट्रहरुले चर्को बिरोध गरेपनि चीन र रसियाले उत्तर कोरीयाको साथ दिंदै आइरहेका थिए । यस पटक त्यस्तो नभएर उत्तर कोरिया प्रति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सर्बसम्मतिका अधारमा उत्तर कोरीया माथि प्रतिबन्ध लगाउने निर्णय पारित गरेको छ । यसले उत्तर कोरियालाइ आफ्नो बिबादित कार्यक्रम बन्द गर्न दबाब सृजना गरे पनि उसले अटेर गरीरहेको छ ।
विश्व व्यवस्थामा वर्तमान समयमा देखिएको आणविक हतियारको होडबाजीमा उत्तर कोरीयको उपस्थितिले एशियाली प्रायद्वीपमा संकट पैदा गर्नुका साथै अमेरीकाले आफूलाइ सुरक्षा चुनौति रहेको भन्दै उत्तर कोरीयाको आणविक कार्यक्रमको सदैव बिरोध गर्दै रह्यो । अमेरिकाले जापान, दक्षिण कोरीयाको सहयोगमा आर्थिक सहयोग बन्द गरी रह्यो । सुरक्षा परिषदमा चीन र रूसको निषेधाधिकारको प्रयोगले अमेरीकाले उत्तर कोरीया माथि कुनै ठूलो कदम चाल्न सकिरहेको थिएन । यस पटक भने सर्बसम्मतिले उत्तर कोरीया माथि आर्थिक प्रतिबन्ध लगाउन अमेरीका सफल भयो ।
उत्तर कोरीया प्रतिको आफ्नो प्रस्तावमा चीन र रूसले समर्थन गरेकाले अमेरीकी राष्ट्रपतिले चीन र रूसको खुलेरै उच्च प्रशंसा गरे । यसरी विश्व शक्तिहरु एक ठाउँमा आएको बाहिरी रुपमा देखिए पनि यही सेरोफेरोमा अमेरीकी राष्ट्रपति निर्वाचनमा रसियाले नकारात्मक भूमिका खेलेको भन्दै रूसमाथि नाकाबन्दी लगाउने कानुन अमेरीकी संसदले पारित गरेपछि त्यो रोक्न चाहि अमेरीकी राष्ट्रपति असफल भएका थिए । जसले सतहमा मिले जस्तो देखिए पनि वास्तवमा यी दुबै देश कुटनीतिक कर्मचारी कटौती गर्ने र देश निकाला गर्नेसम्मका कृयाकलापमा उत्रिसकेका छन् ।
उत्तर कोरीया माथि प्रतिबन्ध लाएपछि उत्तर कोरीयाले आधिकारिक धारणा सार्बजनिक गर्दै आफू बिरुध्द हालै लगाएको प्रतिबन्धले आफ्नो सार्बभौमिकता माथि ठाडो हस्तक्षेप गरेको तथा यसले उत्तर कोरीयाको आणविक कार्यक्रम नरोकिने र झनै राष्ट्रिय भावनाको विकास हुँदै कोरीयाली जनता एकताबध्द भइ यसको बदला लिने अभिव्यक्तिले विश्वमा अस्थिरता र अनिश्चयको वातावरण सृजना भइ युद्दको त्रास फैलाएको पाइन्छ ।
उत्तर कोरीयाको धम्कीपूर्ण अभिव्यक्तिले त्रसीत भएको अमेरीकाले आफ्नो सुरक्षा ब्यवस्था कडा बनाउँदै लगेको छ भने दक्षिण कोरीयामा सैन्य गतिबिधि बढाउँदै गएको छ । उता जापानले पनि सुरक्षा सतर्कता अपनाएको समाचार बाहिरिएको छ । यसै सन्दर्भमा चीनले पनि सुरक्षा सतर्कता बढाउँदै संयुक्त सैन्य अभ्यासमा सहभागिता जनाएको छ । शक्ति राष्ट्रका पछिल्ला क्रियाकलापले कतै यिनीहरु उत्तर कोरीयासँग त्रसीत भएको त हैन ? भन्ने संदेश प्रवाह गरेको छ । कतै आणविक युद्दको अवस्था सृजना भएको त होइन भन्ने संसय विश्वभर फैलिएको छ ।
उत्तर कोरीयाले पछिल्लो समय शक्तिशाली अन्तरदेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि यो अवस्था सृजना भएको थियो । गएको दुइ बर्ष यता निरन्तर रुपमा उसले आणविक परीक्षण जारी राखेको छ । शक्ति राष्ट्रहरुले पटक पटक परीक्षण बन्द गर्न आग्रह गर्दा पनि अटेर गरी आफ्नो कार्य जारी राखेको र वार्तामा बस्न समेत अनिच्छुक भएको भन्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रतिबन्ध लगाउने निर्णय गरेपछि उत्तर कोरीयाको अर्थतन्त्रमा नराम्रो प्रभाव पार्ने जनाइएको छ । उता उत्तर कोरीयाले यस प्रतिबन्धले आफूलाइ कुनै असर नपर्ने बरु देशलाइ आत्मनिर्भर बनाउन सघाउने बताएको छ । साथै उसले आफ्नो आणविक कार्यक्रम जारी राख्ने पनि स्पष्ट पारेको छ ।
विश्वका शक्तिशाली राष्ट्रहरु एक ठाउँमा उभिंदा पनि उत्तर कोरीयालाइ मनाउन नसक्नु तथा उसलाइ शान्तिपूर्ण वार्ताबाट समस्या समाधानमा अग्रसर गराउन नसकी धम्कीपूर्ण बाटो अपनाउनुले युद्दको कालो बादल मडारीन थालेको छ । कुनै पनि खालका डर त्रास बिना आफ्ना क्रियाकलापमा उत्तर कोरीया अडिग रहनुले आम रुपमा विश्वमा रहेका सर्बसाधारण जनता आणविक हतियारको प्रयोग सहित विश्वमा युद्द फैलिने त होइन भनि बेचैन भइरहेका छन् ।
उत्तर कोरीयाले दक्षिण कोरीयालाइ अस्तित्व नै समाप्त पारीदिने तथा अमेरीकी गोप्य सैनिक अखडामा आक्रमण गर्ने धम्कीपछि जापान, दक्षिण कोरीया, चीन, अमेरीका लगाएतका देशहरुले सैनिक सुरक्षा सतर्कता बढाएका छन । अमेरीकी राष्ट्रपतिले उत्तर कोरीयाले नसोचेको आक्रमण गर्ने अभिव्यक्ति दिनुका साथै अन्य देशले पनि युद्दको तयारी बढाउनुले पनि त्यसको युद्दको तयारीको आभास भइरहेको छ ।
साँच्चै उत्तर कोरीयाले यसरी आणविक कार्यक्रम सञ्चालन गर्दै गएमा शक्तिशाली बन्न सक्ने र भोलिका दिनमा उसले विश्वलाइ अटेरी गर्न सक्ने आशंकामा शक्ति राष्ट्रले उसलाइ बेलैमा ब्रेक लगाउन खोजेको देखिन्छ । उत्तर कोरीयाबाट खतारा आइरहेको र हामी होशीयार हुनुपर्छ भनी सबैले हतियार होड बढाएको देखिन्छ ।
सुरक्षा परिषदको प्रतिबन्ध पछि पनि आणविक कार्यक्रम रोक्नुको साटो झन् बढाउने, परि आएमा भिड्ने सम्मको अभिव्यक्तिले उत्तर कोरीया आफ्नो काममा प्रतिबद्द रहेको देखिन्छ । साथै अर्कतिर यस्ता काम नरोकिए ठूला देशले के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । यो संसयले अबको बाटो युद्द वा शान्ति के हुने भन्ने कुरा ठोस रूपमा भन्न सकिने अवस्था छैन । यदी अमेरीका लगायतका देशहरु त्रसीत भएर उत्तर कोरीयाको काम रोक्न युद्दको बाटो रोजे भने यसबाट हुने क्षति अहिले नै आँकलन गर्न सकिंदैन । र, यस्तो युद्दको वातावरण ननिम्तियोस सबैको कामना यही छ । ठूला देशको डर हटाउँदै कोरीया प्रायद्वीपमा अशान्तिको वातावरण मथ्थर गर्दै शान्ति स्थापना गर्ने काममा संयुक्त राष्ट्र संघको भूमिका खोजी सबै आ-आफ्ना हठबाट एक कदम पछाडि हटी समस्या समाधान गर्न देशहरु सफल होउन् । शुभकामना ।
(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभागमा अध्ययनरत छन् ।)
प्रतिकृया दिनुहोस्