Birendranagar Municipality

घनश्याम कंडेल र दुर्गा बराललाई मदन र जगदम्बाश्री पुरस्कार

घनश्याम कंडेल र दुर्गा बराललाई मदन र जगदम्बाश्री पुरस्कार

सेरोफेरो
११ भदौ । यसबर्षको मदन पुरस्कार लेखक घनश्याम कंडेललाई प्रदान गरिने भएको छ । उनको पुस्तक धृतराष्ट्रका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त कुल १९५ पुस्तकहरुमध्येबाट धृतराष्ट्र छनौट भएको हो । 

 

यसैगरी कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनलाई यस बर्षको जगदम्बाश्री पुरस्कार प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।

 

उक्त घोषणालाई लेखक डा. मतिप्रसाद ढकालले अपाङ्गप्रति न्याय भएको बताएका छन् ।


कंडेलबारे ढकालको टिप्पणी :
धार्दिङमा जन्मिएर नेपाली र अङ्ग्रेजीमा स्नातकोत्तर तथा कानुनमा स्तानकसम्मको अध्ययन गरेका घनश्याम कँडेल त्रिवि नेपाली केन्द्रीय विभागका सेवानिवृत्त प्राध्यापक हुन् । समालोचना र काव्यका क्षेत्रमा उनका एक दर्जन कृतिहरू प्रकाशित भइसकेका छन् ।

 

धृतराष्ट्र उनको पछिल्लो खण्डकाव्य हो । ऐरावती प्रकाशन काठमाडौंद्वारा २०७३ मा प्रकाशित यस कृतिमा अनुष्टुप छन्दमा संरचित सात सर्ग छन् । यस कृतिको प्रारम्भमा प्रा.डा. माधवप्रसाद पोखरेलको प्रौढ भूमिका रहेको छ भने अन्तमा डा. रामप्रसाद ज्ञवालीको ३७ पृष्ठको समालोचनात्मक भूमिका समावेश गरिएको छ । ४१ पृष्ठमा खण्डकाव्यको विषयवस्तु रहेको छ भने ५५ पृष्ठमा खण्डकाव्यमाथि चर्चा गरिएको देखिन्छ ।

 

धृतराष्ट्र महाभारतका दृष्टिविहीन प्रमुख पात्र हुन् । यो खण्डकाव्य तिनै दृष्टिविहीन पात्रलाई दृष्टि प्रदान गर्दै लेखिएको काव्य हो । खण्डकाव्यकारले महाभारतको मूल कथावस्तुलाई यहाँ पन्छाएका छैनन् र बङ्ग्याएको पनि देखिँदैन । धृतराष्ट्रको दमित मनोभावनालाई यस काव्यमा प्रस्फुटित गर्ने प्रयत्न गरिएको छ । धृतराष्ट्रलाई यहाँ उन्मुक्त रूपमा आफ्नै पक्षमा वकालत गर्ने अवसर दिइएको छ । यस काव्यमा काव्यात्मक आविष्कारका प्रशस्त नमुनाहरू भेट्न सकिन्छ ।

 

केही वर्ष खण्डकाव्यकार स्वयंले पनि अर्धअन्धताको स्थिति व्यहोर्नुपरेकाले उनी यो खण्डकाव्य लेख्न अग्रसर भएका हुन् । यो खण्डकाव्य आत्मालापीय शैलीमा पूर्वस्मृतिका रूपमा लेखिएको छ । धृतराष्ट्र यहाँ महाभारतमा भन्दा गतिशील पात्रका रूपमा देखिएका छन् ।

 

अन्धत्व चेतु शीर्षकको पहिलो सर्गमा सर्वसंहारपछि आफ्नो अतीततर्फ फर्केर हेर्ने क्रममा धृतराष्ट्रले देखेको आफ्नो बाल्यकाल, अन्धत्वको बोध, त्यसपछि बिस्तारै उनका मनमा जाग्दै गएका जिज्ञासा र तत्सम्बन्धी प्रतिक्रियाहरू यसरी व्यक्त भएका छन् ।

 

हो, म अन्धो छु, अन्धो नै थिएँ म जन्मदा पनि ।
कस्तो थिएँ म त्यो बेला थाह नै छैन क्यै पनि ।।१।।

 

थाहा पाएँ अरूबाटै दृष्टिहीन रहेछु म ।
दर्शनीय छ यो सृष्टि म भने देख्न सक्तिनँ ।।८।।

 

देख्छन् रे देख्न सक्नेले सृष्टिलाई सधैं नयाँ ।
सृष्टि कस्तो छ गर्थें म तर केवल कल्पना ।।१८।।

 

पुङ्नपुच्छरका बाँच्छन् सधैँभरि मजासित ।
तर सोझाहरू गर्छन् सम्झौता जिन्दगीसित ।।३८।।

 

छ र जीवनको अर्को के नै विकल्प आखिर ।
साकार जिन्दगीभन्दा थाह छैन, छ के पर ।।४४।।

 

यही जीवनमा मात्र हुन्छन् सम्भावना सबै ।
नरहे जिन्दगी शेष, सकिन्छन् ती स्वयम् सबै ।।४५।।

 

भनें, हुँ भोग्न आएको, म भोग्छु जे परे पनि ।
जिन्दगीबाट भागेर पर जान्नँ कतै पनि ।।४६।।

 

संवेदनाहीनहरूप्रति शीर्षकको दोस्रो सर्गमा अन्धअपाङ्गहरूलाई हेय दृष्टिले हेर्नेहरूप्रति धृतराष्ट्रका प्रतिक्रियाहरू व्यक्त भएका छन् ।

२०७४ भदौ ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्