Birendranagar Municipality

गुर्मित राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

गुर्मित राम रहिमलाई २० वर्ष जेल, ३० लाख जरिवाना

सेरोफेरो
१३ भदौ । बलात्कारको मुद्दामा दोषी ठहर भएका देरा सच्चा सौदाका प्रमुख गुर्मित राम रहिम सिंहलाई २० वर्ष जेल सजाय हुने भएको छ। दुई महिलालाई बलात्कार गरेको ठहर गर्दै हरियाणाको पञ्चकुलास्थित भारतको केन्द्रीय जाँच ब्युरोको अदालतले उनलाई १०/१० वर्ष जेल र १५/१५ लाख भारु जरिवाना गर्ने फैसला गरेको हो।

 

रहिमलाई हाल रोथकको जिल्ला कारगारमा राखिएको छ। प्रशासनले जेलको सुरक्षाका लागि तीन घेरामा सुरक्षाकर्मी परिचालन गरेको छ।

 

अदालतले गत शुक्रबार रहिमलाई बलात्कारमा दोषी ठहर गरेको थियो। अदालतको उक्त फैसलापश्चात् सिंहका समर्थकले पञ्जाब, हरियाणा दिल्लीमा हिंसात्मक प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा ३८ जनाको ज्यान गएको थियौं भने दुई सयभन्दा बढी घाइते भएका थिए।

 

को हुन् रहिम ?
राम रहिमको जन्म ५० बर्ष अघि राजस्थानको गंगानगरमा भएको हो । गाउँकै स्कूलबाट उनले माध्यामिक तहको शिक्षा पूरा गरे। उनको एक पत्नी तीन छोरी र एक छोरा छन्।

 

२३ वर्षको उमेरमा उनी देरा सच्चा सौदाको प्रमुख भएका थिए। गैरनाफामुखी सामाजिक कल्याण र आध्यामिक संस्था भनिने देरा सच्चा सौदाको संसारभर ४६ वटा केन्द्र छन् । करिब छ करोड मानिस यसका अनुयायी छन्। सन् १९४८ मा शाह मस्तानाले यसको स्थापना गरेका थिए।

 

रहिम १९९० मा यसको प्रमुख भएका थिए। त्यसपछि संस्था र उनी बेलाबेलामा विवादमा परिरहे । सन् २००२ मा भारतको संघीय प्रहरीले रहिममाथि बलात्कार र हत्या आरोपमा छानबिन थालेको थियो।

 

'रकस्टार बाबा' नामले समेत चिचिने रहिम गीत गाउने, कन्सर्ट गर्ने, म्युजिक भिडियो र फिल्म समेत खेल्ने गर्थे। सन् २००७ मा शिख गुरु गोविन्द सिंहको भेषमा एक विज्ञापनको भिडियोमा देखिएपछि उनको आलोचना भएको थियो। २०१५मा उनी एक भिडियोमा भगवान बिष्णुको अवतारमा देखिएपछि उनीविरुद्ध उजुरी परेको थियो। यो अवधिमा उनी दर्जनभन्दा बढी आरोपमा मुछिएका छन्।

 

उनको वेवसाइटमा आध्यात्मिक गुरु, समाजसेवी, गायक र खेलाडीका रूपमा परिचय दिइएको छ। ठूलो मात्रामा समर्थक रहेका उनको देरा सच्चा सौदालाई सत्तारुढ भारतीय जनता पार्टी र प्रतीपक्षी कांग्रेस आईले समेत सहयोग गर्दै आएका छन्।

 

(एजेन्सीको सहयोगमा)

२०७४ भदौ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्