Birendranagar Municipality

सम्बन्धन विधिसम्मत : उपकुलपति काेइराला

सम्बन्धन विधिसम्मत : उपकुलपति काेइराला

सेरोफेरो
१३ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु)ले विश्वविद्यालयको ऐन नियम अन्तर्गत रही सम्बन्धन दिएको जनाएको छ । विश्वविद्यालयले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धनबारे बाहिर आएका समाचार भ्रामक भएकोले त्यसमा विश्वास नगर्न सबै सरोकारवालाहरुसंग अनुरोध गरेको छ ।

 

एमयुले हालैमात्र काठमाडौंमा सञ्चालित तीन नीजि कलेजलाई सम्बन्धन दिएको थियो । विभिन्न सञ्चार माध्याममा प्रकाशित सम्बन्धन सम्बन्धी समाचारले विश्वविद्यालयको ध्यानाकर्षण भएकोले पत्रकार सम्मेलन गरी सत्य तथ्य बाहिर ल्याइएको उपकुलपति प्रा. डा. उपेन्द्र कुमार कोइरालाले बताए ।


‘हामीले विश्वविद्यालयको प्रचलित ऐन नियमबमोजिम नै सम्बन्धन दिएका हौं । नीजि तथा नाम चलेका क्याम्पसलाई सम्बन्धन दिंदा त्यसले विश्वविद्यालयको आर्थिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुर्‍याउँछ, उनले भने–  ‘हामीले विधिवत रुपमा सूचना प्रकाशन गरी प्राप्त आवेदनका आधारमा छानविन समेत गरी सम्बन्धन दिएका हौं ।’ सम्बन्धनबाट विश्वविद्यालयलाई करोडौं रकम फाइदा हुने र यो क्षेत्रका जनताका छोराछारीले गुणस्तरीय शिक्षा प्राप्त गर्नेपनि उनले बताए ।  


मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को परिच्छेद ७ दफा १९ र २० मा विश्वविद्यालयले नीजि क्याम्पसलाई सम्बन्धन प्रदान गर्न सक्ने व्यवस्था छ । विश्वविद्यालयले मध्यपश्चिम क्षेत्रका विभिन्न १० क्याम्पसलाई आँगिक बनाउने प्रकृया शुरु गरेको पनि जनइएको छ ।


कार्यक्रममा बोल्दै उपकुलपति कोइरालाले भने– ‘हामीले विश्वविद्यालय सञ्चालनका सम्बन्धमा सबै सरोकारवालाको सल्लाह र सहमतिमा २० बर्षे रणनीति बनाएका छौं । र, सोही रणनीतिका आधारमा हामी अघि बढेका हौं ।’ विश्वविद्यालय सञ्चालन सम्बन्धमा कुनै शंका नगर्न पनि उनले सबैसंग आग्रह गरे । उनले भने– ‘म बरु मर्न तयार छु तर विश्वविद्यालय बचाउँछु ।’  

२०७४ भदौ १३ मा प्रकाशित

प्रतिकृया दिनुहोस्