Birendranagar Municipality

कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा निषेधाज्ञा, प्रदेश प्रवेशमा कडाई

सेरोफेरो
कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा निषेधाज्ञा, प्रदेश प्रवेशमा कडाई

१ भदौ । कर्णाली प्रदेशका तीन जिल्लामा आजबाट निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेशका सुर्खेत, जुम्ला र मुगुमा जिल्ला निषेधाज्ञा जारी गरिएको हो । प्रशासन कार्यालय र स्थानीय सरकारहरूले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।

 

सुर्खेतको वीरेन्द्रनगर, मुगुको गमगढी र जुम्लाको चन्दननाथमा सोमबार देखि निषेधाज्ञा लागू भएको छ । रुकुम–पश्चिमको मुसिकोट नगरपालिकामा समेत बुधवारदेखि निषेधाज्ञा जारी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले बताए ।

 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगमा सामान्य अवस्था झै भिडभाड, अत्याधिक बढेपछि साउन २९ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

 

भेरीगंगा, गुर्वाकोटा र लेकवेशी नगरपालिकामा समेत आवश्यकता परेमा निषेधाज्ञा गर्न सकिने तर बराहताल, पञ्चपुरीमा भने वीरेन्द्रनगरमा गरिएको निषेधाज्ञाले आवतजावत नियन्त्रणमा आउने प्रजिअ रेग्मीको भनाई छ । थाहा नपाएर बाहिर निस्कनेलाई सम्झाउने तर अटेर गर्ने र जारी आदेशको उलंघन गर्नेलाई स्थानिय प्रशासन ऐन, २०२८ र संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।

 

यसैगरी सुर्खेतको भेरीगंगा नगरपालिकामा समेत कोरोनाको संक्रमण फैलिन नदिन बजार बन्द गरिएको उप-प्रमुख रेणु आचार्यले जानकारी दिईन् । साउन ३२ गते नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भदौ १ गते सोमवार ५ बजेदेखि भदौ ५ गते राती १२ बजे सम्म लागु हुने गरी अत्यावसेक सेवा बाहेक बजार बन्द गरिएको उप-प्रमुख आचार्यको भनाई छ ।


यस संगै कर्णाली प्रदेश प्रवेशमा समेत कडाई गरिएको छ । पास लियर कर्णाली प्रवेश गर्ने व्यक्तिहरूलाई समेत तीन दिन अगाडीको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

 

कर्णाली प्रदेश भित्रिने मुख्य नाका सुर्खेतको बबई, कुइने, सल्यानको कालिमाटी, काल्चे र कपुरकोट लगायतका सीमा नाकामा पीसीआर रिपोर्ट जाँच गरिनेछ ।

२०७७ भदौ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्