मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय कार्यालयको प्राङ्गणमा स्वामीको विरुवा रोप्न खाल्डो खन्दै तेजविक्रम बस्नेत । (तस्बिर :सेरोफेरो)
२ भदौ । कोरोना महामारीका कारण हुने कोभिड-१९ ले सबै क्षेत्र प्रभावित छन् । धेरै प्रभावित क्षेत्रमध्ये एक हो शिक्षा । कोरोना संक्रमण फैलिन नदिन हाल विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा भने बन्दाबन्दीका बेला सरसफाई तथा पार्क निर्माणको काम भइरहेको छ । स्वयंसेवी मजदुरहरुलाई हौसला दिनमात्र होइन एक मजदुरकै रुपमा छन् मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसका प्रमुख तेजविक्रम बस्नेत ।

क्याम्पस परिसरमा विद्यार्थीको चाप नभएको बेला कोरोनाको जोखिमलाई ध्यान दिंदै पार्क निर्माणमा लागेको बस्नेतको भनाई छ । ‘हामीले स्वयंसेवी रुपमा फलफूलका विरुवा रोप्ने, प्रतिक्षालय निर्माण तथा रंगरोगनका काम गरिरहेका छौं’ उनले भने ।
विश्वविद्यालयका माली गोरे रावतलाई क्याम्पस प्रमुख नै आफूसंग काम गर्न आउँदा शुरुमा अप्ठेरो लाग्यो । उनी भन्छन्, ‘चिफ सरले हँसिया कोदालो लिएर सधैं काममा आउँदा ठूला मान्छेले पनि ज्यामी काम गर्दारैछन् भन्ने लाग्यो ।’
उसो त हाम्रोमा सार्वजनिक पद धारण गरेका व्यक्ति हमेसा यस्ता काममा खटिंदैनन् । कसैले गरिहालेमा देखाउनको लागि मात्र हो भन्ने बुझाई छ । कामलाई हेर्ने सामाजिक चिन्तन नै तहगत खालको छ ।

समाजशास्त्री दिपेश घिमिरे भन्छन्, ‘पढेका मान्छेले शारीरिक श्रम गर्नु हुँदैन भन्ने हाम्रो सोच छ । बालबालिकालाई पनि त्यसै अनुसार व्यवहार गरिन्छ । राम्रोसंग नपढे ठूलो भएपछि हलो जोत्नुपर्छ, बाख्रा चराउनुपर्छ भनेर कामप्रतिनै नकारात्मक धारणाको विकास गरिएको पाइन्छ । जुन गलत हो । पढेर गरिने जागिर पनि काम नै हो भनेर बुझाउन सक्नुपर्छ ।’
६० सालमा स्ववियु सभापति हुँदा आफ्नो अगुवाईमा सुर्खेत क्याम्पस (शिक्षा)मा प्रतिक्षालय तथा पार्क निर्माण गरेका बस्नेतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा क्याम्पस प्रमुख भएपछि पनि शहिद पार्क निर्माण गरे । कर्णाली प्रदेश प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका शहिदको सम्झनामा उक्त पार्क बनाइएको उनको भनाई छ । यसका अलावा उनले क्याम्पस परिसरमा बुद्धचित्त, एभोकाडो, रुद्राक्ष, स्वामी, पिपल, बोटल पाल्मजस्ता विरुवा रोपेका छन् ।

क्याम्पस प्रमुख बस्नेतले शिक्षक तथा विद्यार्थीमैत्री शैक्षिक प्रशासन सुधारका योजनाहरु पनि कार्यान्वयनमा ल्याएका छन् । ‘केन्द्रीय क्याम्पस अन्तर्गत रहेका शिक्षण समितिहरुलाई सक्रिय एवं चुस्त दुरुस्त बनाउन थप जिम्मेवारी दिइएको छ । आन्तरिक मूल्याँकन निर्देशिका निर्माण गरी लागू गरिएको छ । समय समयमा विभिन्न सेमिनार, वेविनार तथा अतिथि कक्षा सञ्चालन गरिएको छ भने अनुसन्धानमूलक पत्रिकाकाे प्रकाशन थालिएको छ’, उनले भने–‘विद्युतीय भर्ना र हाजिरी शुरु गरेका छौं । साथै केन्द्रीय पुस्तकालय व्यवस्थापनमा विशेष ध्यान दिएको छु ।’
बाह्य स्रोतसमेत परिचालन गरि प्रशासनिक भवन रेट्रोफिट गरिरहेका उनले विद्यार्थीहरुलाई पिउने पानीको फिल्टर जडान, शौचालय र खाजाघरको उचित व्यवस्था मिलाएका छन् । केन्द्रीय क्याम्पसमा कक्षाकोठा तथा सेमिनार हलको भने अझै अभाव रहेको बस्नेतको भनाई छ ।

शिक्षक र विद्यार्थीमाझ लोकप्रिय रहेका क्याम्पस प्रमुख बस्नेत क्याम्पसलाई नयाँपन दिनुपर्छ भन्ने मान्यता राख्छन् । उनी भन्छन्, ‘मानविकी र सामाजिकशास्त्र अन्तर्गतका विषयले मानिसलाई समाजसंग जोड्ने भएकाले स्वभावतः अतिरिक्त कृयाकलापको माग गर्दछ । त्यसका लागि हामी सबै शिक्षक तथा विद्यार्थी स्वयंसेवी ढंगले सामाजिक काममा जोडिन जरुरी छ । यसका लागि हामीले विभिन्न संघसंस्थाहरुसंग समेत सहकार्य गरिरहेका छौं ।’
विश्वविद्यालयका तत्कालिन उपकुलपति उपेन्द्र कुमार कोइरालाले बस्नेतलाई यसरी सम्झन्छन्– ‘उहाँको सबल पक्ष भनेकै सकृयता हो । विश्वविद्यालयका हरेक गतिविधिमा सकृयतापूर्वक संलग्न हुनहुन्थ्यो । काममा तत्परता देखाउने मान्छेले नै अब्बल गर्न सक्छन् ।’

२२ बर्षको उमेरमा स्ववियु सभापति बनेका बस्नेत एक उत्प्रेरक व्यक्तित्व रहेको विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल बताउँछन् । भन्छन्– ‘मैले उहाँलाई विद्यार्थी छँदादेखि चिन्छु । उहाँमा नयाँ काम गर्ने उत्साहका साथै विद्यार्थीलाई गोलवद्ध गर्न सक्ने क्षमता थियो । यद्धपी भूमिका अनुसार कतिपय परिवर्तन स्वाभाविक हुन्छन् । हाल उहाँ क्याम्पस प्रमुख भएपछि भने मैले नजिकबाट नियाल्न पाएको छैन ।’
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना मूल समितिका सदस्य समेत रहेका बस्नेत क्याम्पस प्रमुख बन्नुअघि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति शिक्षण समिति प्रमुख थिए । विश्वविद्यालयमा प्रगतिशील प्राध्यापक संगठनको शुरुवाती नेतृत्व गरेका उनी प्राज्ञिक परिषद सदस्यसमेत हुन् ।





प्रतिकृया दिनुहोस्