Birendranagar Municipality

सुर्खेतमा निषेधाज्ञा भदौ १२ गते सम्म थप

सेरोफेरो
सुर्खेतमा निषेधाज्ञा भदौ १२ गते सम्म थप

८ भदौ । सुर्खेतमा जारी निषेधाज्ञा भदौ १२ गते राती १२ बजेसम्म थप गरिएको छ । भदौ ९ गते राती १२ बजेसम्म जारी गरिएको निषेधाज्ञालाई भदौ ८ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञाको मिति थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

 

वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा कोरोनाको संक्रमण तिव्र रुपमा बढेको र नागरिकहरुले स्वास्थ्य सुरक्षा मापदण्डलाई वेवास्ता गरेको, भिडभाड, भेलाजम्मा तथा जमघट गरेको पाईएकोले यसबाट जनस्वास्थ्यमा गम्भीर असर पर्न जाने भएकोले स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

 

यस अवधीमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधी पसल, तरकारी जस्ता अत्यावसेक सेवा तथा व्यवसायहरु संचालन गर्न पाईने प्रशासनले बताएको छ ।

 

सहायक प्रजिअ पौडेलका अनुसार स्वास्थ्य संस्था तथा अत्यावसेक सेवाका कार्यालयहरु बाहेक बैंक, वित्तिय संस्था, सहकारी सहित सवै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरुबाट प्रवाह हुने (आन्तरीक अत्यावसेक बाहेक) सवै सेवा बन्द गराउने गरी निषेधाज्ञा जारी छ । मृत्यु र दाहसंस्कारमा बढीमा १५ जना सहभागी हुने बाहेक अन्य धार्मिक क्रियाकलाप, सामाजिक क्रियाकलाप (विवाह र ब्रतवन्ध) हरु नगर्न प्रशासनले अनुरोध गरेको छ ।


सवारीसाधन तर्फ एम्बुलेन्स, शववाहन, दमकल, भण्डावाल सवारी, सुरक्षा, स्वास्थ्य, कुटनीतिक नियोग, संचारकर्मी र अत्यावसेक सेवा संचालन गर्ने सवारीहरु संचालन गर्न दिने जारी सुचनामा उल्लेख छ ।

 

निषेधाज्ञालाई पूर्णरुपमा पालना गर्न सरोकारवाला कार्यालय, संघसंस्था, उद्योगी, व्यवसायी एवं सर्वसाधारणलाई प्रशासनले अनुरोध गरेको छ ।

 

साउन २९ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट भदौ १ गते विहान ६ बजेदेखी निषेधाज्ञा जारी गरिएको थियो ।

 

जारी आदेशको उलंघन गरेमा प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

Dao Bhadra 8

२०७७ भदौ ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्