९ भदौ । नेपालमा कोरोनाका कारण अगामी केहि हप्ता तथा महिना खतरायुक्त रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । यो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व डब्लूएचओ ले चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको तर यो सुरुवात मात्रै रहेको भन्दै अबको केही हप्ता तथा महिनापछि अवस्था निकै खराब हुने चेतावनी दिनुभयो ।
यसअघि नेपालमा विदेशबाट फर्किएकामा मात्रै सङ्क्रमण देखिएकोमा अहिले समुदायस्तरमा पनि सङ्क्रमण देखिन थाल्नु समुदायमा सङ्क्रमण व्यापक हुने सुरुवाती लक्षण भएको उहाँको भनाइ छ। अहिले ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न थालेको र यसको कारण पाको उमेरका व्यक्तिलाई पनि कोरोना सङ्क्रमण हुन थालेको भन्दै उहाँले पाको उमेर तथा जोखिम वर्गका मानिसमा कोरोना सङ्क्रमण रोक्न नसके अझै धेरैको ज्यान जाने स्पष्ट पार्नुभयो ।
तर कोरोना भाइरसका सङ्क्रमित धेरै देखिए पनि आत्तिनु परिहाल्ने अवस्था भने नरहेको डब्लूएचओका नेपाल प्रतिनिधि डा. भ्यान्डलियरले बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्गमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमसँग कुरा गर्दै उहाँले कुल जनसङ्ख्याको एकदेखि दुई प्रतिशतमा मात्र कोरोना सङ्क्रमण भएको र सङ्क्रमण भएकामध्ये पनि धेरैमा सामान्य लक्षणमात्र देखिने भएकोले यो घातक नहुने जानकारी दिनुभयो । उहाँले टोल छिमेकमा सङ्क्रमण देख्दैमा आत्तिनु नपर्नेमा पनि जोड दिनुभयो ।
डा. जोस भ्यान्डलियरले तेस्रो चुनौती मानिसको व्यवहारलाई मान्नुभएको छ । कोरोनाबाट बच्नको लागि मास्क लगाउने, दुरी कायम गर्ने, हात धुने जस्ता व्यवहार लामो समयसम्म प्रयोगमा आउनुपर्छ । तर मानिसहरु सजिलै यस्तो व्यवहार परिवर्तन गर्दैनन् ।
मानिसलाई धुम्रपानले असर गर्छ भन्ने थाहा छ त्यही पनि चुरोट, बिँडी खान छाड्दैनन्। त्यस्तै कोरोनाबाट बच्न के गर्नुपर्छ भन्ने कुरा धेरैलाई थाहा भइसकेको छ तर प्रयोगमा ल्याउँदैनन् । 'मानिसलाई कोरोनाबाट बच्ने स्वास्थ्यका मापदण्ड पालना गराउन मुस्किल छ । तर जसरी भए पनि यो कुरा गर्नैपर्छु', उहाँले भन्नुभयो ।
प्रतिकृया दिनुहोस्