१४ भदौ । भद्रकालीस्थित सैनिक मुख्यालय परिसरमा आइतबार बिहान एक जवानले आफैलाई गोली हानी आत्महत्या गरे।
सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलका अनुसार भद्रकालीस्थित नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा खटिएका सिपाही दामोदर क्षेत्रीले आफूले बोकेको राइफलले आफ्नै कन्चटमा ‘फायर खोलेका’ थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो। तनहुँका २७ वर्षीय क्षेत्री अविवाहित हुन्। उनी भद्रकालीस्थित सैनिक ब्यारेकमा बस्दै आएका थिए।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीका अनुसार ड्युटी सकेर विदा हुने बेलामा उनले आत्महत्या गरेका थिए। क्षेत्रीसहित २ जनाको सोमबार राति १२ बजेदेखि त्यहाँ ड्युटी सुरु भएको थियो।
‘तीन घण्टाको ड्युटी हुने रहेछ। ड्युटीमा खटिएका अर्का जवान ३ बजेपछि ड्युटीमा आउनुपर्नेलाई उठाउन गएका बेला क्षेत्रीले आत्महत्या गरेको देखिन्छ। बाँकी अनुसन्धान भइरहेको छ’, घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत सिंहदरबारका एक अधिकारीले भने।
मृतक क्षेत्रीको परिवार तनहुँमा बस्दै आएको छ। क्षेत्रीले बोक्ने मोबाइलमा ‘लक’ राखिएकाले प्राविधिक पक्षको अनुसन्धान ढिलो भएको प्रहरीले जनाएको छ।
सैनिक प्रवक्ता पौडेलले क्षेत्रीले एक गोली प्रहार गरेको बताएका छन्। क्षेत्रीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। यसअघि गत जेठ २९ गते राति विरेन्द्र सैनिक अस्पताल छाउनीमा प्यूठ डम्बरबहादुर विष्टले पनि आफैलाई गोली हानेर आत्महत्या गरेका थिए।
गत जेठ ११ गते महानगरीय प्रहरी वृत स्वयम्भुअन्तर्गत स्वयम्भुमा रहेको ड्युटी पोष्टका इन्चार्ज विष्णु कार्कीले पनि गोली हानी आत्महत्या गरेका थिए। राति ड्युटी सकेर ब्यारेकमा सुतेका असई कार्की नउठेपछि बन्द कोठा फोरेर हेर्दा उनी भुइँमा लडिरहेको अवस्थामा भेटिएको प्रहरीको दावी थियो। ड्युटी पोष्टभन्दा नजिकै उनको परिवार कोठा भाडामा बस्दै आएको भएपनि उनी राति अस्थायी ब्यारेकमा बस्थे।
यी दुईवटै घटनामा मृतक किन आत्महत्याको निर्णयसम्म पुगे भन्नेबारे नेपाल प्रहरी र सेनाका मुख्यालय दुवै मौन छन्। उनीहरुले आत्महत्या गरेको भन्ने बाहेक अन्य निष्कर्ष उनीहरुसँग छैन।
प्रतिकृया दिनुहोस्