Birendranagar Municipality

सर्वेक्षण भन्छ- एक तिहाइ अमेरिकी खोप आएपनि लगाउन चाहँदैनन्, ९७ प्रतिशत चिनियाँ भने लगाउने पक्षमा

एजेन्सी
सर्वेक्षण भन्छ- एक तिहाइ अमेरिकी खोप आएपनि लगाउन चाहँदैनन्, ९७ प्रतिशत चिनियाँ भने लगाउने पक्षमा

१७ भदौ । एक बहुराष्ट्रिय सर्वेक्षणले एक तिहाइ अमेरिकी उपलब्ध भएपनि कोरोना भाइरसको खोप लिन तयार नभएको देखाएको छ। सर्वेक्षणले अमेरिका विश्वमा खोपलाई लिएर सबैभन्दा शंकालु राष्ट्रमध्ये एक भएको देखाएको छ।

 

वर्ल्ड इकोनोमिक फोरमका लागि आइपिएसओएस एमओआरआइ गरेको सर्वेक्षणमा अमेरिकाका रहेका ३३ प्रतिशत उत्तरदाताले खोप नलिने बताएका हुन्। उनीहरूले खोप लिने कुरामा आफ्नो 'आंशिक' वा 'पूर्ण' असहमति रहेको जवाफ दिएका छन्।

 

सर्वेक्षणमा ३२ प्रतिशतले खोप लिने कुरामा 'आशिंक सहमति' जनाएका थिए भने ३५ प्रतिशतले खोप लिने बताएका थिए। एमओआरआइको सर्वेक्षणमा देखिएको यो नतिजा यसअघि गरिएका दुई मारिस्ट र ग्यालअप सर्वेक्षणसँग मिल्दोजुल्दो छ। ती सर्वेक्षणमा ३५ प्रतिशत अमेरिकीले उपलब्ध भएपनि कोरोनाको खोप नलिने बताएका थिए।

 

सर्वेक्षणमा खोपप्रति चासो पनि अमेरिकामा अन्य २७ मुलुकको दाँजोमा कम देखिएको छ।  समग्रमा २७ देशका कुल उत्तरदातामध्ये २६ प्रतिशतले पनि खोप नलगाउने बताएको सो सर्वेक्षणमा पाइएको छ।

 

सर्वेक्षणले २७ देशमध्ये रसियामा खोपप्रति सबैभन्दा कम चासो रहेको देखाएको छ। त्यहाँ ४६ प्रतिशत उत्तरदाताले खोप प्रति आफ्नो 'आंशिक' वा 'पूर्ण' असहमति प्रकट गरेका छन्। रसियाका राष्ट्रपति भ्लादमिर पुटिनले गत महिना आफ्नो मुलुकले कोरोनाविरूद्ध प्रभावकारी खोप निर्माण गरेको र चाँडै आम प्रयोगमा ल्याइने बताएका थिए।

 

सर्वेक्षणमा चीनका उत्तरदातामध्ये धेरै जनाले आफूहरूले उपलब्ध भएको खण्डमा खोप लगाउने बताएका थिए। मात्र ३ प्रतिशत चिनियाँले खोप नलगाउने उत्तर दिएका थिए। यस्तै सर्वेक्षणमा सहभागी ८५ प्रतिशत बेलायतीले खोप लगाउने बताएका छन्। खोपलाई लिएर गरिएका अनेकन अफवाहकाबाबजुत बेलायतीहरू भने खोपप्रति सहमत रहेको पाइएको हो।

 

यध्यपी खोप नलगाउने बताएकामध्ये ६० प्रतिशत अमेरिकीहरूले भने खोपका कारण हुनसक्ने भनिएको दुष्प्रभावलाई खोप नलगाउने कारण मानेका छन् भने ३७ प्रतिशतले भने खोप प्रभावी हुनेमा आशंका व्यक्त गरेका छन्।

 

यस्तै २० प्रतिशतले आफूहरू आमरूपमा नै कुनै पनि प्रकारको खोपको विरूद्ध भएको बताएका छन्। सर्वेक्षणमा १९ प्रतिशतले भने आफूहरू खोप नै लिनुपर्ने गरी खतरामा नरहेको ठानेको जनाएका थिए।

 

जुलाई २४ देखि अगस्ट ७ सम्म गरिएको सर्वेक्षणमा २७ देशका १९ हजार ५ सय १९ सहभागी थिए।

२०७७ भदौ १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्