Birendranagar Municipality

बैकल्पिक कक्षालाई मान्यता दिइने

सेरोफेरो
बैकल्पिक कक्षालाई मान्यता दिइने

१९ भदौ । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट हुने शिक्षण सिकाईलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ।

 

शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षालाई कोभिड १९ को संक्रमण अवधिभर मूल प्रणालीको रुपमा विकास गरी मान्यता दिन क्रेडिट गणना गर्न लागिएको बताएका हुन्।


कोरोना भाइरस संक्रमणको जोखिमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि हाल होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षालगायतका वैकल्पिक सिकाईबाट शिक्षण सिकाई कार्य भैरहेको छ ।

 

मन्त्री पोखरेलले महामारीको अन्त्यपछि पनि वैकल्पिक पद्धतिलाई विद्यालय र विश्वविद्यालय शिक्षाको पूरक पद्धतिको रुपमा विकास गर्दै लैजाने बताए।

 

सरकारले विद्यालय तथा शिक्षालय अवरुद्ध भएपनि विद्यार्थीको सिकाई अवरुद्ध हुँदैन भन्ने सैद्धान्तिक मान्यतालाई अंगीकार गर्दै अघि बढ्ने उनको भनाई छ ।

 

शैक्षिक सत्र २०७७ को साढे चार महिना वितिसकेको अवस्थामा पाठ्यक्रमलाई संश्लेषण गर्ने निर्णय भएको पनि मन्त्री पोखरेलले जानकारी दिए ।

 

यस्तै विश्वविद्यालयका लागि कम्तिमा ६ महिनाको कोभिड केन्द्रीत क्यालेण्डर सार्वजनिक गर्न निर्देशन दिइसकेको र सोही अनुसार मन्त्रालयमा कार्यतालिका प्राप्त भइसकेको पनि उनले बताए।

 

मन्त्री पोखरेलले महामारीका कारण घरमै बस्न बाध्य बालबालिकालाई नियमित पठनपाठनमा सरिक गराउन अभिभावकको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षण सिकाई क्रियाकलापमा चासो दिन पनि अभिभावकलाई आग्रह गरेका छन्।

२०७७ भदौ १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्