२१ भदौ । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।
स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
उनले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए। कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ। उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन्। ती अस्पतालमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन।
यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ। ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए।
कोभिडको मार्गचित्र निर्धारण गर्न समिति
कोभिड–१९ का सन्दर्भमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्ने सम्बन्धमा प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट डा प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् व्यवस्थापन एकाइबाट एक सदस्य–सचिव रहने छन्।
सरकारी प्रयोगशालाले मापदण्डबाहेक नमूना परीक्षण नगर्ने
मन्त्रालयले सबै सरकारी प्रयोगशालाले गर्ने नमूना सङ्ख्याको ५० प्रतिशत नमूना परीक्षण मापदण्डमा नपरेका व्यक्तिको शुल्क लिएर परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता डा गौतमले सबै सरकारी प्रयोगशालाले गर्ने परीक्षणको ५० प्रतिशत सरकारको मापदण्डमा परेका सङ्क्रमितको नमूनाका लागि स्वाब निःशुल्क गर्ने र ५० प्रतिशत मापदण्डमा नपरेका व्यक्तिको नमूना परीक्षणमा शुल्क लिने भन्ने निर्णय गरिएको बताए। पचास प्रतिशत नमूना परीक्षणका लागि प्रयोग हुने सम्पूर्ण रिएजेन्ट अस्पताल वा प्रयोगशालाले आफैँले खरिद गर्नु पर्नेछ।
६० शय्या आइसियुका लागि बजेट निकासा
मन्त्रालयका प्रवक्ता डा गौतमले अर्थ मन्त्रालयबाट ६० श्यया सघन उपचार कक्ष (आइसियु)का लागि बजेट निकासा भएको जानकारी दिए। ती आइसियु शय्या त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा बन्नेछन्।
प्रतिकृया दिनुहोस्