२९ भदौ । १ लाख रुपैयाँको कोरोना बीमा गरेकाले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । यस्तै ५० हजारको बीमा गर्नेले १२ हजार ५ सय रुपैया पाउने छन्।
सोमबारदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै बीमा समितिले कोरोना पुष्टिपछि २५ प्रतिशत राहत तथा औषधि उपचारका लागि हुने खर्च बिल भर्पाईका आधारमा मात्रै भुक्तानी दिने भएको हो। यद्धपी संक्रमित घरमा वा होटलमा बसेको वा खाना खाएको खर्चको बिल भने भुक्तानी हुनेछैन।
बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले इजाजत प्राप्त सबै निर्जीवन बीमा कम्पनीहरुलाई सोमबार जारी गरेको परिपत्र अनुसार पिसिआर पोजेटिभ रिपोर्ट आउनेवित्तिकै २५ प्रतिशत भुक्तानी दिइने तथा बाँकी ७५ प्रतिशतसम्म रकम औषधि उपचारमा भएको खर्चको बिलको आधारमा भूक्तानी दिइने उल्लेख छ।
बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले मापदण्ड संशोधन गरेको हो। समितिका अनुसार हालसम्म करिब ४ सय जनाले कोरोना बीमाको भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएका छन्।
बीमा कम्पनीहरुले व्यक्तिगत रुपमा ६ सय रुपैयाँ र पारिवारिक रुपमा ३ सय रुपैयाँ प्रिमियम लिएर कोरोना बीमा गर्दै आएका छन्। हालसम्म १३ लाखभन्दा बढी संख्याले बीमा गरेको र ७५ करोड रुपैयाँ बराबर प्रिमियम रकम संकलन भएको छ।
भदौ २८ अघि जारी गरिएका बीमा लेखमा भने कोरोना पुष्टि हुनासाथ सबै रकम पाइनेछ।
संशाेधन हेर्नुहाेस् ः
प्रतिकृया दिनुहोस्