Birendranagar Municipality

चुनाव हारे पनि सत्ता नछाड्ने ट्रम्पको धम्की, बाइडेनले भने ‘बेतुक’को अभिव्यक्ति

एजेन्सी
चुनाव हारे पनि सत्ता नछाड्ने ट्रम्पको धम्की, बाइडेनले भने ‘बेतुक’को अभिव्यक्ति

८ असाेज । चुनाव हारे पनि सत्ताबाट शान्तिपूर्ण बहिर्गमन नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि डेमोक्र्याट उम्मेदवार जो बाइडेनले रिपब्लिक उम्मेदवारको अभिव्यक्ति ‘बेतुक’को भएको प्रतिक्रिया दिएका छन्।

 

कोरोना भाइरसको महामारीका कारण संक्रमणलाई फैलन नदिन हुलाकमार्फत मतदान गर्ने तयारी भइरहेका बेला दोस्रो कार्यकालका लागि उठ्ने तयारी गरिरहेका ट्रम्पले मत परिणाम आफ्नो प्रतिकूल आए सर्वोच्च अदालत पुग्ने बताएका थिए।

 

कोरोना भाइरसको महामारीका कारण यो पटक अधिकांश राज्यले हुलाकमार्फत हुने मतदानमा प्रोत्साहन गरेका छन्। बाइडेनले चुनाव हार्ने देखेर ट्रम्पबाट उक्त अभिव्यक्ति आएको बताएका छन्। यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनका बेला पनि ट्रम्पले यस्तै धम्की दिएका थिए।

 

निर्वाचनअघि उनले धाँधली हुनेभन्दै मतपरिणाम अस्वीकार गर्ने बताएका थिए। तर डेमोक्रयाट उम्मेदवार हिलारी क्लिन्टनलाई अप्रत्यासित रुपमा पराजित गरी उनी राष्ट्रपति बनेका थिए। उनी इलेक्ट्रोरल कलेजमा विजयी भए। तर उनी पपुलर मतमा भने हिलारीभन्दा ३० लाख मत पछि परेका थिए।

 

बाइडेनले अमेरिकी सरकार चुनावी मतपरिणामलाई कार्यान्वयन गर्न सक्षम रहेको बताउँदै घुमाउरो पारामा ट्रम्पले हारे उनलाई ह्वाइट हाउसबाट हटाउने पनि बताएका छन्।

 

गत महिना हिलारी क्लिन्टनले निर्वाचनमा ट्रम्पले धाँधली गर्न सक्ने भन्दै सचेत र सतर्क रहन वाइडेनलाई सुझाव दिएकी थिइन्। अमेरिकामा आगामी राष्ट्रपतिय निर्वाचन नोभेम्बरमा हुँदैछ।

 

ट्रम्पको अभिव्यक्तिको रिपब्लिकनकै सिनेटरले आलोचना गरेका छन्। सिनेटर मिन रोम्नीले सत्ताबाट शान्तिपूर्ण बहिर्गमन नहुनु भनेको बेलारुस जस्तै बन्न खोज्नु भन्दै प्रजातान्त्रिक मूल्य र मान्यता विपरित हुने बताएका छन्।

 

‘राष्ट्रपतिले संवैधानिक व्यवस्थाको सम्मान गर्दैनन् भन्नु सोच्नै र स्वीकार्नै नसकिने कुरा हुन्’, ट्रम्पकै आलोचना गरेर बेलाबेला चर्चामा आउने गरेका रोम्नीले भनेका छन्।

 

हुलाकबाट हुने मतदान ठगहरुलाई फाइदा पुग्ने भन्दै यस्तो निर्वाचन प्रकृयाको विपक्षमा ट्रम्प छन्। सर्वोच्च अदालतमा रिक्त न्यायाधिश नियुक्तिमा ट्रम्पले देखाएको चासोबाट विपक्षीहरु सशंकित छन्।

 

अमेरिकाको संघीय निर्वाचन आयोग प्रमुख एलेन वैनट्राउबले हुलाकबाट हुने मतदानमा धाँधली हुने कुनै आधार नरहेको बताएका  छन्। ब्रेनान सेन्टर फर जस्टिसले सन् २००७ मा गरेको एक अध्ययनअनुसार अमेरिकामा हुलाकमार्फत भएको मतदानमा निकै न्यून मात्रामा धाँधली हुने गरेको छ अर्थात ०.००००४ देखि ०.००००९ प्रतिशतसम्म मात्र।

 

तर मास्साचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका राजनीतिक वैज्ञानिक चार्ल्स स्टेवार्टले गरेको एक अध्ययनअनुसार  हुलाकमार्फत गरिने मतदानमा मतपत्र हराउने गरेको निष्कर्ष निकालिएको थियो। सन् २००८ को निर्वाचनमा हुलाकमार्फत गरिएको मतदानमा  ७६ लाख मतपत्र हराएको उक्त अध्ययनको निचोड थियो।

२०७७ असाेज ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्