९ असोज । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पिसिआर परीक्षण नगर्न र नगराउन सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत पिसिआर परीक्षण गराउनुपर्ने अवस्थाबारे जानकारी गराएका हुन्।
उनका अनुसार ज्वरो तथा सुख्खा खोकी लागेका, श्वासप्रश्वासमा समस्या भएका, झाडापखाला लागेका, कुनै स्वाद वा गन्ध थाहा नपाउनेहरुको पिसिआर परीक्षण गर्ने तथा यी कुनै लक्षण नदेखिएकाको परीक्षण नगर्न नगराउन आग्रह गरिएको हो ।
यस्तै संक्रमितको सम्पर्कमा आएकाहरुले ५ दिनपछि पिसिआर परीक्षण गर्नुपर्नेछ ।
उनका अनुसार विदेशबाट फर्किएकाहरुको पनि पिसिआर परीक्षण गर्न सकिने छ ।
चिकित्सकीय सल्लाहअनुसार शल्यक्रिया गर्नुपर्ने तथा जटिल अवस्थामा रही डिस्चार्ज गर्नुपर्ने बिरामीहरुको पनि पिसिआर परीक्षण गर्नुपर्नेछ।
यस्तै आइसियूमा राख्नुपर्ने सबै बिरामीहरु, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको पिसिआर परीक्षण गर्न सरकारले भनेको छ।
तर शल्यक्रिया तत्काल गर्नुपर्ने बिरामीहरुको कोरोना रिपोर्ट नआएकै भरमा शल्यक्रिया नरोक्न पनि प्रवक्ता गौतमले आग्रह गरे।
यसैगरी ५ देखि ७ दिन क्वारेन्टिनमा रहेका, दिर्घरोगी, ६० वर्ष नाघेकाहरु, अग्रपंक्तिमा रहेर काम गर्नुपर्नेहरु, कुटनीतिक नियोग र भिसा प्रयोजनाका लागि मात्रै पिसिआर परीक्षण गर्न सरकारले अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस्