Birendranagar Municipality

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या: प्रहरी

देशसञ्चार
१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या: प्रहरी

११ असाेज । बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि नै हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।

 

जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।

 

जिल्ला अस्पताललले शनिबार बेलुका प्रहरीलाई बुझाएको पोष्टमार्टम रिपोटमा ‘यौनांगमा भित्री र बाहिरी चोटहरू रहेको उल्लेख छ’ प्रहरी अधिकारीले भने, ‘टाउको, अनुहार, पिठ्यूँ लगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएको र बाहिरी चोटहरू सम्झनाले बलात्कारीसँग प्रतिकार गर्ने क्रममा लागेको देखिन्छ ।’

 

सम्झनाको मृत्यु भने कलेजो च्यातिएको कारणले भएको पोस्टमार्टम रिपोर्टले देखाएको प्रहरी अधिकारीले बताए । कलेजोको चोट उनलाई हत्याराले हिर्काउँदा लागेको हुन सक्ने अनुमान गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको बताए।

 

‘घटनामा संलग्नको आशंकामा पक्राउ परेका राजेन्द्र बोहरामाथि थप अनुसन्धान अगाडि बढाएका छौं’ डीएसपी खड्काले भने–‘शनिबार पनि घटनाको तथ्य संकलनका लागि म सहित ९ जनाको टोली घटनास्थल गएका थियौँ।’

 

अनुसन्धानमा अहिलेसम्म फेला परेको प्रमाणहरु हेर्दा बोहराले नै यो घटना घटाएको लगभग स्पष्ट भएको डीएसपी खड्काको भनाइ छ ।

 

बुधबार साँझ घरबाट गोठमा गाईभैँसी बाध्न हिँडेकी सम्झनाले गोठ पुग्न नपाउँदै बीच बाटोमा मृत्युवरण भएको थियो ।

 

घटनामा संलग्न भएको आशंकामा १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरिसकेको छ।

 

बोहरा यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ। सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन्।

 

घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन्। उनका आमा बाबु रोजगारीका लागि भारतमा रहेका छन् ।

२०७७ असाेज ११ मा प्रकाशित

प्रतिकृया दिनुहोस्