तस्विर गुगलबाट
१६ असोज । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।
दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताव छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।
प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ ।
प्रस्तावित राजधानीमा जग्गा रोक्का :
प्रदेश ५ को प्रस्तावित राजधानीमा जग्गा किनबेच र कित्ताकाट रोक्का गरिएको छ । दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव भरतमणि सुवेदीले जानकारी दिए ।
उक्त क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि जग्गा किनबेच र कित्ताकाट गर्न रोक्का गरेको सुवेदीले बताए ।
प्रतिकृया दिनुहोस्