Birendranagar Municipality

जाजरकोट जीप दुर्घटनामा परी वडाध्यक्ष सहित ६ जनाको ज्यान गयो

सेरोफेरो
जाजरकोट जीप दुर्घटनामा परी वडाध्यक्ष सहित ६ जनाको ज्यान गयो

२१ असोज । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता छन् । दुर्घटनामा परी एक जना घाइते भएका छन् ।


जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको केन्द्रतर्फ गइरहेको भे १ ज ९३५ नम्बरको यात्रुवाहक जीप गाउँपालिका १ को औल खोला भीरमा दुघर्टना भएको हो ।

 

जाजरकोट प्रहरीका अनुसार ज्यान गुमाउनेमा गाँउपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ वर्षीय कृतिबहादुर शाही, लालबहादुर बुढा र त्यही वडाका स्वास्थ्यकर्मी ३२ वर्षीय खेमराज शाही हुन् ।

 

त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ वर्षीय कृष्णबहादुर शाही र गर्खाकोट मटेलाकी २५ वर्षीया मालिका बस्नेतको ज्यान गएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिए ।

 

एक जना भने मजकोट खोलामा बेपत्ता भएको अनुमान गरिएको छ, उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घाइते भएका वडा नम्बर ११ का नरबहादुर बुढालाई उपचारका लागि जिल्ला सदरमुकाम खलङ्गा ल्याइँदैछ । औल खोला भीरबाट खसेको गाडी झण्डै तीन सय मिटर तल रहेको मजकोट खोलामा परेको थियो । अहिले गाडी खोलामै छ ।

 

वडाध्यक्ष शाहीको शव निकालिसकिएको छ भने अन्यको शव पानीभित्रै खोलामा रहेको र निकाल्न पहल भइरहेको डीएसपी श्रेष्ठले बताए ।

 

घटनास्थल सदरमुकाम खलङ्गादेखि झण्डै २० कोस पश्चिमतर्फ रहेको छ । गाडी चालक गोरख बस्नेत भने फरार रहेको प्रहरीले जनाएको छ ।

२०७७ असोज २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्