२७ असोज । एकैदिन नेपालमा तीन हजार पाँच सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी काठमाण्डौ उपत्यकामा दुई हजार एक सय २९ जनामा कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हजार सात सय ४६, भक्तपुरमा एक सय ६७ र ललितपुरमा दुई सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा १५ हजार पाँच सय ७७ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय तीन जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७८ हजार सात सय ८० पुगेको छ ।
अब नेपालमा ३५ हजार नौ सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्