Birendranagar Municipality

आज घटस्थापना, साइत बिहान ११:४६ बजे

सेरोफेरो
आज घटस्थापना, साइत बिहान ११:४६ बजे

१ कार्तिक । आज विजयादशमीको पहिलो दिन घटस्थापनामा हिन्दु धर्मालम्बीहरुले घरमा जमरा राख्दैछन् । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ ।

 

आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

 

घटस्थापनाको साइत शनिबार बिहान ११ः४६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले बताए ।

 

नवरात्रको पहिलो दिन शनिबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

 

जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष गौतमको भनाई छ ।

२०७७ कार्तिक १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्