२ कार्तिक । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिवद्ध भएको बताएका छन् । नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सारे ।
नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आईतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा मन्त्री गुरुङले महासंघ लगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे । ‘संचार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने,‘त्यसका लागि नेपाल पत्रकार महासंघ सहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पुर्याउने विश्वास लिएको छु ।’
त्यस अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाईरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी संचार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री गुरुङले संचार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु गरेका थिए ।
संचारमन्त्री गुरुङले प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन तथा पत्रकारहरुको पेशागत हितको पक्षमा आफू दृढतापूर्वक लागिपर्ने बताए । संचार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरोकारवालासँग गम्भिर छलफल गरेर अघि बढ्ने मन्त्री गुरुङले प्रतिवद्धता व्यक्त गर्नु भएको भेटमा सहभागी महासंघका उपाध्यक्ष दिलिप थापामगरले जानकारी दिए ।
मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी भएको संचार तथा सूचना प्रविधिमन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्