४ कार्तिक । कर्णाली प्रदेशमा नेकपा बारे देखिएको विवादका विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटा ‘जुगल’ को फरक अभिव्यत्तिले नेकपा कार्यकर्ताहरुमा अन्योलता छाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमवार ४ बुँदे सहमती भएको जानकारी दिएका छन् ।
तर प्रचण्डका प्रेस संयोजकले दुवै अध्यक्ष विच छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको जनाएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारले मंगलबार जारी गरेको प्रेस नोट:-
सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –
१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।
२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।
३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,
४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।
सूर्य थापा, प्रेस सल्लाहकार
४ कात्तिक २०७७
‘प्रचण्ड’ प्रेस संयोजकले मंगलबार जारी गरेको प्रेस नोट:-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।
उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।
बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय
प्रतिकृया दिनुहोस्