Birendranagar Municipality

आज महाष्टमी, दुर्गाभवानीको पूजाराधना गरी हर्षोल्लास पूर्वक मनाईदै

सेरोफेरो
आज महाष्टमी, दुर्गाभवानीको पूजाराधना गरी हर्षोल्लास पूर्वक मनाईदै

८ कार्तिक । विजयादशमीको आज आठौ दिन दुर्गाभवानीको विशेष पूजाराधना गरी महाष्टमी पर्व मनाइदैछ। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व बडादसैँको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरि देशभरका शक्तिपिठहरुमा मनाईदैछ । आजको दिन महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ।

 

आजको दिन शास्त्रसम्मत रूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ।

 

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको छ।

 

आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ। ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ। 


आजका दिन काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष भने कोरोना भाइरसको सङ्क्रमणका कारण नगण्य मात्रामा बलिसहितको पूजा हुने छ।

 

यसैगरी उपत्यका बाहिरका नुवाकोटका जाल्पामाई र भैरवी, सुर्खेतको देउतीबज्यै, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ।

 

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएका स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ। यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो।


देवीका शस्त्रास्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ। पशुबलि नचढाउनेहरूले भने आज पूजाकोठामा आआफ्नो कुल परम्परानुसार काँक्रो, घिरौँला, कुभिण्डो, मुला, नरिवल आदि बलि चढाई पूजाआजा गर्छन्।

२०७७ कार्तिक ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्