सेरोफेरो
१७ भदौ । ‘छावा (हात्तीको बच्चा)लाई आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट (प्रतिक चिन्ह) बनाइने भएको छ । युवा तथा खेलकुदमन्त्री राजन केसीले शनिबार नेपालगन्जमा उक्त घोषणा गरेका हुन् ।
हात्ति बाँके र बर्दिया जिल्लाको पहिचानको रूपमा रहेकाले छावालाई मस्कट बनाइएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक समितिका सचिवालय सदस्य एवं क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष भीम वलीले बताए ।
हात्ति संरक्षणको सन्देश दिन छावालाई मस्कट बनाउने निर्णण् भएको पनि उनले बताए । प्रतियोगिताका बेला आमा हात्तीलाई अगाडि र सातवटा ‘छावालाई पछाडि लगाइने पनि वलीले जानकारी पनि दिए ।
स्थानीय पहिचान झल्कने कुरालाई मस्कट बनाउने परम्परा रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनालीले बताए । जंगली जनावरप्रति माया दर्शाउन पनि ‘छावालाई प्राथमिकता दिइएको उनले बताए ।
काठमाडौंमा भएको पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा डाँफेलाई मस्कट राखिएको थियो । यसैगरी पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा लालीगुराँस, वीरगन्जमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा बाघ, नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा कृष्णसार, काठमाडौंमा भएको पाँचौं राष्ट्रिय खेलकुदमा पाण्डा, धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा हरिण र पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा अर्नालाई मस्कट राखिएको थियो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बर्ष मध्यपश्चिम क्षेत्रमा हुँदैछ । २०५५ सालमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्