सेरोफेरो
१८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो महान पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा शुभकामना व्यक्त गरेकी छन् । आईतबार एक सन्देश जारी गरी उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यकाे कामना गरेकी हुन् ।
सन्देशमा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न चाडपर्वले योगदान पुर्याएको उल्लेख छ ।
सन्देशमा भनिएको छ, 'भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन् । हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चीरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौं, बकर ईद पर्वको पावन अवसरमा यही मेरो सबैमा हार्दिक शुभकामना छ ।'
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर ईद मनाउने धार्मिक परम्परा छ । यस पर्वमा मुस्लिमहरु विहानै स्नान गरी मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाजपछि एक आपसमा अंकमाल गरी शुभकामना आदान प्रदान गरिन्छ ।
प्रतिकृया दिनुहोस्