सेरोफेरो
२१ भदौ, सुर्खेत । २०७३ जेठ २९ गते जिल्ला साविक लेखफर्सा गाविस वडा नं. ७ बस्ने वर्ष ३२ की महिलालाई जाजरकोट रग्दा गाविसवडा नं. ३ बस्ने कमल सिंहले भारतमा लगि बेचबिखन गरे । सिंह २०७३ मंसिर ०६ गते पुर्पक्षमा कारागार चलान भए ।
२०७३ असार २४ गते वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ भैरवस्थानबाट साविक लेखपराजुल गाविस वडा नम्बर ६ का २७ को कृष्ण सुनारले एक युवतिलाई बेचविखन गरे । उनी प्रहरीको फरार सुचिमा छन् ।
यसैगरी वीननपा २० बस्ने वर्ष २४ को प्रेम शाही भन्ने उपेन्द्र बहादुर शाहीले २०७३ वैशाख ३१ गते साटाखानी गाविस वडा नं.४ बाट एक युवतिलाई ललाई फकाई जबर्जस्ती करणी गरि बेचबिखन उद्देश्यले भारत तर्फ लिदै गरेको अवस्थामा रुपैडिहा नाकाबाट माईती नेपालले उद्धार गर्यो । शाहीलाई जिल्ला अदालत सुर्खेतको २०७३ असार २१ गतेको आदेशले कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।
२०७२ बैशाख २० गते दैलेख खरीगैरा गाविस वडा नं. ६ घर भई हाल वीननपा ११ बस्ने ३८ वर्षिया बष्णु देवी बिकले एक युवतिलाई ललाई फकाई करकापमा पारी यौन दुव्र्यवहार गर्न लगाइ मानब ओसार पसार गरेको पुष्टि भयो । विकलाई मिति २०७२ जेठ २१ गतेको सुर्खेत जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।
यतिमात्र हैन ०७० जेठ २४ गते वीननपा २४ बाट साविक अवल्चिङ्ग गाविस वडा नं. ८ का प्रेम बहादुर रानाले एक युवतिलाई भारतको गुजरात पुर्याई बेचबिखन गरेको भनि आफन्तले इलाका प्रहरी चौकी छिन्चुमा मुद्दा दर्ता गरेका छन् । प्रतिबादी राना हाल सम्म फरार रहेको प्रहरीले बताएको छ ।
माथी उल्लेखित घटना विगत दुई वर्षमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका हुन् । घटनाको संख्या हेर्दा बेचविखन कम भएको देखिन्छ तर वास्तविकता भने फरक छ । प्रहरीका अनुसार मानव बेचविखन गिरोहले सुर्खेतलाई ‘ट्रान्जिट पोइन्ट’को रुपमा समेत प्रयोग गरिरहेका छन् । कर्णाली, पुर्वि अछामको, पश्चिम रुकुुम, पश्चिम सल्यान, जाजरकोट, दैलेखबाट दलाले सुर्खेतलाई बाटो बनाएर विभिन्न नाकामा पुर्याउने गरेको प्रहरीको अध्ययनले देखाएको छ ।
प्रहरीका अनुसार सामाजिक प्रतिष्ठामा आँच आउने र दलालको डर धम्किका कारण धेरै आफन्तहरु प्रहरीमा उजुरी गर्न नै आउदैनन् । ठाडो उजुरी ल्याएर आउनेहरु कोही पीडितहरु मुद्दा दर्ताको प्रक्रियासम्म पुग्दैनन् । महिला तथा वालवालिका कार्यालयमा परामर्शको लागि आउने कतिपय पिडितहरु पनि प्रहरीकोमा नजाने गरेको महिला तथा बालवालिका कार्यलयका प्रमुख जमुना पौडेलले जानकारी दिइन् । पौडेल भन्छिन् ‘हामीकहाँ काउन्सिलिङको लागि आउछन् । हामी प्रहरीकोमा उठाउंछौं । उनिहरु बाटैबाट फर्किने रहेछन् ।’
जिल्लामा मानव बेचविखन न्युनिकरणको लागि गैरसरकारी संघ संस्थाले आ –आफ्नो रुपमा काम गरीरहेका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मानव बेचविखन न्युनिकरणका लागि जिल्ला कार्य समिती छ जसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।
पछिल्लो समयमा बैधानिक रुपले बेचविखन भइरहेको एक प्रहरी अधिकारी बताए । उनका अनुसार बैदेशिक रोजगारको नाममा राहदानि र नागरीकता बनाएर भारतको बाटो हुदै विभिन्न खाडी मुलुकमा नेपाली महिला पुर्याइने गरेकाछन् जुन गैरकानूनि हो । यस कार्यमा घरपरिवारको समेत सहयोग हुने गरेको छ ।
महिला तथा वालवालिका कार्यालयले हरेक स्थानिय तहमा बेचविखन विरुद्धको समिती गठन गरेको छ । उक्त समितीको नियमिति बैठक र विभिन्न दिवसीय कार्यक्रमहरु गर्न जिल्लामा जम्मा ४२ हजार रुपैंया मात्र आउँछ । सिमित बजेटको कारण समितीले प्रभावकारी रुपमा काम गर्न समस्या भएको कार्यालय प्रमुख पौडेलको भनाई छ । ‘स्थानिय निकायको बजेट परिचालन गरी स्थानिय समितीहरुले काम गर्ने नीति आइसकेको छ । अब स्थानिय निकायले आफ्नो समस्याको गाम्भिर्यतालाई ध्यानमा राखि बजेट छुट्याएर समितीलाई प्रभावकारी बनाउनु पर्यो’ पौडेलले भनिन् ।
सिमान्तकृत महिलाहरुको महिला संस्था (वाम) का कार्यकारी निर्देशक मधुरानी ढकालले मानव बेचविखन न्युनिकरणको लागि सबै सरोकारवालाहरु एक हुनुपर्ने बताइन् । ढकाल भन्छिन् ‘जिल्लाको नेटवर्क त्यति प्रभावकारी छैन । वामले गठन गरेका समुहका महिलाहरु यो विषयमा निकै सचेत छन् । एक महिना अघि देखी समुदायमा छलफल गरिराखेका छन् । अब सामुहिक रुपमा काम गर्नुपर्छ ।’ समुदायको सचेततासंगै बेचविखन हुने विभिन्न नाकाहरुमा प्रहरीको सुरक्षा कडा बनाउन सके मानव बेचविखन न्युनिकरण हुनसक्ने ढकालको भनाई छ ।
प्रतिकृया दिनुहोस्