Birendranagar Municipality

१४ औं निजामति सेवा दिवस मनाईंदै

१४ औं निजामति सेवा दिवस मनाईंदै

सेरोफेरो
२२ भदौ । 'निजामति कर्मचारीको प्रतिवद्धता : पारदर्शिता र चुस्तता' भन्ने नाराका साथ १४ औं निजामति सेवा दिवस मनाइएको छ । उक्त अवसरमा बिहिबार देशैभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।


प्रदेश नं. ६ को संभावित राजधानी समेत रहेको सुर्खेतमा रक्तदान कार्यक्रम र बुलबुले उद्यानमा श्रीखण्ड, रुदाक्ष र रक्तचन्दनका विरुवा रोपी निजामति सेवा दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सेरोफेरोलाई जानकारी दिए ।

 

सरकारले निजामति सेवा दिवसको अवसरमा प्रदान गर्दै आएको निजामति पुरस्कारका लागि ४० कर्मचारी छनोट गरेको छ । भदौ २२ गते निजामति सेवा दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरिन्छ ।

 

मुख्य सचिवको संयोजकत्वमा गठित पुरस्कार सिफारिस समितिले १० जनालाई एक लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजार राशिको निजामती सेवा पुरस्कारको लागि छनौट गरेको हो । निजामति सेवा नियमावलीमा व्यवस्था भएबमोजिम दुई लाख राशिको सर्वोत्कृष्ट निजामति पुरस्कारको लागि भने यस बर्ष कोही पनि छनौट नभएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जनाएका छन् । 

 

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेमा सहसचिव दीपक सुवेदी, सहसचिव डिल्लीराज घिमिरे, सहसचिव केवलप्रसाद भण्डारी, उपसचिव प्रेमलाल लामिछाने, महालेखा परीक्षकको कार्यालयका निर्देशक इन्द्रप्रसाद आचार्य, उपसचिव जीवनप्रसाद सेढार्इं, उपसचिव जगन्नाथ बराल, उपसचिव लक्ष्मीदत्त कलौनी, उपरजिस्ट्रार प्रल्हादकुमार योगी र सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल खनाल रहेका छन् ।


बर्षेनी प्रदान गरिने निजामति सेवा पुरस्कार कर्मचारीको काम तथा योगदानका आधारमा हुनुपर्ने भएतापनि चाकडी र चाप्लुसीका भरमा दिइने गरेको भन्दै यसको विरोध हुँदै आएको छ ।


२०१३ सालमा निजामती सेवा ऐन जारी भएको दिन भदौ २२ को सम्झनामा ०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालिएको हो ।

२०७४ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्