सेरोफेरो
२२ भदौ । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव राखेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि चीनको बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूहरुबीच यस विषयमा छलफल भएको बताएका हुन्।
दुई परराष्ट्रमन्त्रीबीच ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापना, अरनिको राजमार्ग खुला गर्ने र यथास्थितिमा रहेका सीमालाई स्तरोन्नती गर्नुका साथै नयाँ सीमा खोल्ने बिषयमा छलफल भएको महराले बताएका छन् ।
भेटमा नेपाल र चीनबीचको अन्तरदेशीय सीमा पार गराई केरुङ(काठमाडौ(पोखरा(लुम्बिनी रेल सेवा सञ्चालनका लागि संम्भाव्यता अध्ययन गर्ने बिषयमा समेत छलफल भएको थियो । मन्त्री महराका अनुसार नेपाल चीन पारवहन तथा यातायात सम्बन्धी सम्झौताको प्रोटोकलको मस्यौदाका विषयमा पनि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग छलफल भएको छ ।
चीनले अगाडि बढाएको वेल्ट एण्ड रोड इनिसियटिभले दुई देशबीच जनस्तरको सम्बन्ध, व्यापार,पर्यटन र लगानी प्रबर्दन, रेल, सडकसहित अन्तरदेशीय सीमा सम्पर्कमा बृद्धि, पूर्वाधार संरचना निर्माणको विकासमा योगदान पुग्ने अपेक्षा नेपालले राखेको मन्त्री महराले बताए । नेपालको विकासमा निरन्तर चिनिया सहयोग भएकोमा चीन सरकारलाई उनले धन्यवाद ज्ञापन गरेका थिए ।
भुकम्पपछि भत्किएको काठमाडौको बसन्तपुर दरवारलाई नौ तले बनाउनेसहित महत्वपूर्ण अन्वेषणात्मक परियोजनामा खर्च गर्ने गरी चीनले सन् २०१६र२०१७ का लागि दुई अर्ब आरएमबी परिचालन गर्ने सम्झौता भएको पनि उनले जानकारी गराए ।
चीन सरकारले सन् २०१७ लाई गन्तव्य नेपाल कार्यक्रम सञ्चालन गरिदिएकोमा मन्त्री महराले मन्त्री वाङ यीलाई धन्यवाद दिएका छन्। सो अवसरमा चीनका मुख्य शहरमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार प्रसार चीन सरकारले गरिदिने अपेक्षा पनि महराले व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्