
टीका विष्ट
‘कहाँ हो कमरेड ?’ कति पछि धनकलीले फोन गरीे । काठमाडौंमा आ’छु । भेटौंन मिल्छ भने । कसरी सम्झिछ ! भनें, आज अलि व्यस्त छु । भोली भेटौंन ल । मनमनै सोचें कमरेड नभन्नुपर्ने उसले । बच्चादेखिकै मिल्ने साथी । लाग्यो निकै क्रान्तिकारी पो भइछे । हुनत पार्टीको भाषा नै प्यारो लाग्दो हो उसलाई । उनीहरु प्रायः सबैलाई कमरेड नै भन्छन् । उमेरले म भन्दा छिप्पलै भएपनि पाँचसम्म संगै पढियो । तँ तँ चल्ने । ६ पढ्न म शहर झर्नेवित्तिकै क्रान्तिमा लागेकी हो ऊ । त्यसयता हाम्रो भेट पातलियो ।
गाउँलेको नजरमा खासै केही गरिन उसले । विहे गरेर भुरा पाउनुलाई महिलाको सबैभन्दा ठुलो प्रगति ठान्छ हाम्रो समाज । मानौं उसले कमाएको परिचय प्रगतिनै होइन । काली भएपनि मान्छे राम्री हो । तर के चिन्ता लिन्छे कुन्नी ? हाड छालाकी मात्र भएकी छ रे । तीस पनि काटीहोली । कुरा काट्नेहरु अनेक व्यंग्य गर्दाहुन् । कसले पो विहे गर्ला र यस्तीलाई ?
जिल्लामा ‘कमरेड धर्ती’ भनेर चिनिन्छे ऊ । भर्खरै भएको अधिवेशनबाट 'डीसीएम' भइछे । गोपी नहराएको भए र उसका बाबुले कान्छी नल्याएको भए माओवादी नै हुन्थिन कि !
दमाईकी छोरी । गाउँभरमा एक्लो दलित परिवार । स्कूल जाने उमेरमा आमा गुमाई । बाउको पनि माया पाइन । स्वास्नी मरेको तीन महिनामै वाउले अर्की ल्याए । सुत्केरी कष्टले आमाको ज्यान गएको हो भन्ने थाहा पाएर विहे नै गर्दिन भन्थी । सौतेनी आमाको रुखो व्यवहार, बाउको पिटाइ, समाजको हेपाहा दृष्टि सबै सम्झेर होला, भक्कानिन्थी मसँग । अर्की ल्याएपछि ‘कान्छा बा’ भएका उसका बाउको पेशा नै रक्सी खाने । बाजे बजै उहिल्यै विते । मैले गाउँ छाडेपछि झनै एक्ली भई । शहर आउंँदा जिम्मुवालका घरसम्म पुर्याउन आएकी हो । कम्ता नरमाइलो मानेकी थिइन । साँच्ची, अचेल कस्ती भा’होली ?
०००
भोलीपल्ट विहानै फोन गरें । शिक्षण अस्पताल महाराजगञ्ज बोलाई । यसै पनि ऊ बच्चैदेखि रोगी हो । के भएछ ? सोच्दै नेपाल यातायात चढें । पानी परेकाले काठमाडौं हिलाम्मे थियो । अस्पतालको गेटमै कुरेकी रैछे । उसलेनै बोलाई, ‘पुतली’ । शहर झरेपछि म ‘प्रभा’ भएको उसलाई थाहै रैनछ । ठुलो झोला । गोल्डस्टार जुत्ता । झट्ट हेर्दा उही भूमिगत पहिरन । मरन्च्याँसे । अनुहारभरी कालोपोतो । ४५ बर्षकी जस्ती ।
के भो धनकली ? किन यस्ती भ’की ?
जवाफमा गम्लङ्ग अंगालो हालेर रोई । धनकलीले सबैका सामुन्ने यसरी डाँको छोडेको पहिलोपल्ट देखें । क्रान्तिमा लागेका मान्छेहरुको मन यति कमजोर हुन्छ भन्ने मैले कल्पना पनि गरेकी थिइन ।
सानोमा ऊ जति हाँस्थी, त्यो भन्दा दोब्बर रुन्थी । आज बाल्यकालको याद आयो । एक दिन उसलाई बाउको पिटाइबाट जोगाउन हाम्रो गोठमा लुकाएकी थिएँ । आमाले थाहा पाएर मलाई सिस्नुपानी लगाउनुभयो, तल्लो जातकी धनकलीले गोठ छोई भनेर । मिल्ने साथीलाई गाईभन्दा तल्लोस्तरको सोचेकोमा पिर लाग्यो । त्यो गाई अघिल्लो बर्ष धनकलीकै घरबाट हामीले किनेर ल्याएका थियौं ।
तल्लो जातसंग संगत गरेको भन्दै घरकाले गाली गर्थे । देखे भकुर्थे । म भनें उसलाई खानेकुरा लुकाएर लगिदिन्थें । यस्तो सोच्थें उसलाई कुनै भुत नलागोस्, मेरा भगवानले पनि उसैलाई हेरुन् ।
मेरो उमेर मिल्ने गोपी मात्र थिई । ऊ एकाएक हराएपछि धनकली झन् राम्रो साथी भई । दुबैसंग मिल्ने गोपीलाई उसकै भिनाजुले बम्बैतिर लगेर बेचे रे ! भन्ने सुनियो धेरै पछि ।
०००
उसका आँखा ओभाएपछि नजिकैको क्याफेमा लगें । आमने सामने गरी बस्यौं । भन्, के खान मन छ ?
मन पर्ने चाउमिन त हो नि, त्यै खाम् । यति बिहानै किन चाउमिन ? यो खाए खाना खानु पर्दैन के । त्यै भ’र । फिस्स हाँसी ।
मलाई ब्ल्याक कफि भनें ।
के छ त खबर ?
रुँला रुँला जस्तो गरी उँधोमुन्टो लगाई धेरैबेर । मानौं ऊ पहिलोपल्ट बोल्ने अभ्यास गर्दैछे, मान्छेको अगाडी । उसको बोली फुटेन । किन गाह्रो मानेकी ? बोल् न । म उही पुतली त हुँ क्यार ! मसंग नि अप्ठेरो मान्छेस् ? सायद उसले विगत सम्झिई । अलि सहज भई ।
थाहा छ पुतली, मेरो बारेमा तँलाई ?
के ?
मेरो बारेमा केइ था’पाइछैनस् ?
अहँ । मैले भनें ।
कमरेड ‘नदी’ (सन्दीप) सँगको सम्बन्ध बारेमा के ?
छैन । भन् न, के भयो ? म जान्न उत्सुक भएँ ।
पापी रैछ पुतली, त्यो सन्दीपे त ।
किन र ?
सम्बन्ध तोड्यो । मलाई घर न घाटको बनायो मोरोले ।
नरोएरै सबै कुरा भन्नै सकिन उसले ।
चाउमिन आयो । चाउमिनमा सस फिट्दै गर्दा भित्र पसेका गाला हुँदै बगेको आँशु प्लेटमा तप्प भयो । झस्केर पुछेझैं गरी । मानौं आँशु बेखबर झर्यो ।
कफि आयो । चुस्की लिंदै भनें, रोएर केही हुँदैन धनकली । आफैलाई कमजोर पार्ने मात्र हो । अरुको मुक्तिको लागि क्रान्तिमा लागेकी तँ । जे हुनु भइसक्यो । आफुलाई सम्हाल् । मलाई सबैकुरा भन् । पीडा जति सुनायो त्यति घट्छ भन्छन् । मैले सम्झाउन खोजें ।
तँ शहर आएपछि एक दिन हाम्रो गाउँमा पार्टीले साँस्कृतिक कार्यक्रम गर्यो । कार्यकर्ता घर-घर बाँडिएर बास बसे । हाम्रोमा आएका दुई जना दिदीको कुराले उनीहरुसँगै जाउँ जाउँ लाग्यो ।
त्यसको केही दिन पछि बा’ले खरीबोटे साइँला दमाईका छोरासँग विहे छिन्दिएछन् । त्यो था’पाको साँझ नै म दिदीहरुको सेल्टर पुगें र पार्टीको एरिया कलाकार भएँ । सबै कुरा कथा झैं सुनाउन थाली ।
०००
पार्टी जातीय विभेदको विरुद्धमा थियो । पार्टीकै अगुवाइमा धेरैको अन्तरजातीय विवाह भए । सल्लेरीको सन्दीप केसीसंग मेरो विहे गरिदिने पार्टीको प्रस्ताव आयो । हामी दुवै राजी भयौं । ०५८ सालमा जनवादी विहे भयो । हामी आफ्नो-आफ्नो जिम्वेवारीमा खटिएका थियौं । जिल्ला भित्रै तर अलग-अलग । बीचबीचमा भेट हुन्थ्यो । अरुहरु जस्तो क्रान्तिका लागि मर्नेभन्दा बाँचेरै युद्ध जित्ने संकल्प थियो दुबैको । पार्टीमा लागेपछि मैले धेरै कुरा सिकें । पार्टी भित्र हुने प्रशिक्षणहरुले वैचारिक ज्ञान मात्र दिएन, समाज बुझ्न सहयोग गर्यो ।
०६१ को अन्त्यतिर सेनाले माओवादी निर्मुल पार्ने भन्दै हाम्रो सेल्टरहरु खोज्न थाल्यो । एक दिन हामी दुस्मनको घेराबन्दीमा पर्यौं । घरको झ्यालबाट हाम फालेर बारीका ठुल्ठुला कान्ला र भिर छिचोल्दै घेरा तोडियो । धन्न ज्यान जोगियो । अर्को सेल्टरमा नपुग्दै मलाई असहजजस्तो भयो । महिनावारी रोकिएको पनि दुई महिना नाघेको थियो । भोलीपल्टैबाट त रगत नरोकिने भयो । बच्चा रहेछ, खस्यो भन्ने लख काटें ।
कसैलाई भनिन । सन्दीप कमरेड पनि टाढा । अहिलेजस्तो फोन पनि नाइँ । थकाई मार्न पनि पाइएन । विना उपचार खटिइरहें पार्टीकै काममा । चोक्टा चोक्टा भएर बग्यो रगत । शरीर कमजोर हुँदै गयो । तल्लो पेट दुखीरह्यो । खलंगाबाट औषधी मगाएर खाएँ । के हुन्थ्यो ? भएन । आफै अस्पताल जाने स्थिति थिएन । घर जाउँ, सेनाले थाहा पाउँथ्यो । तीन महिना पछि मात्र सन्दीपसंग भेट भयो । भेटमा सबै कुरा भनें ।
मैले कफि दुई पटक सुरुप-सुरुप पारें ।
ऊ पुलुक्क मलाई हेरी ।
र, भनी– त्यति माया गर्ने सन्दीप मेरो कुरामा ध्यानै नदिए जस्तो गर्यो । भेट्न पनि मन नमानेजस्तो । मलाई अमिलो भयो । मृत्युलाई हत्केलामा राखेर हिंड्दा सँगै बाँच्ने सँगै मर्ने कसम खाएका हामीमा कुनै पल नमिठो होला भन्ने कल्पना समेत थिएन । हतार छ भन्दै सन्दीप हिँड्यो ।
युद्धविराम भयो । पार्टीले बन्दुक बिसाउने चर्चा चल्यो । सोचें, त्यसपछि सन्दीपसँग खुलस्त कुरा गरौंला । बैधानिक रुपमा पार्टीले बन्दुक विसाएर शान्ती प्रक्रियामा आयो । घर जाने वातावरण बनाउँछु भनी गएको ऊ बेखवर भयो । मसँग टाढिन खोजेको महशुुस गरें ।
एकदिन खोज्दै उसको गाउँमै गएँ । म आएको थाहा पाएर चौतारोमै भेट्टाउन आयो । मन खुशी भयो । कतिबेला ‘घर जाउँ’ भन्ला भयो । तर, उसको पहिलो वाक्यनै ‘डिभोर्स गरौं’ भन्ने थियो । त्यसैपनि म लखतरान । कुरा सुनेर उभीरहन सकिन । थचक्क बसें । कारण म तल्लो जातकी अरे !
ऊ रोकिई ।
मेरो मन जिज्ञासाले गह्रौं भयो । सोधें, दमाईकी छोरी भन्ने पहिल्यै थाहा थिएन र ?
किन नहुनु । पार्टीलाई समेत थाहा थियो नि ।
के जातीय समानता पार्टी भूमिगत भएको बेला मात्रै हो ? ऊ बर्बराई । हाम्रो विवाह गरिदिने धेरैजसो कमरेडहरु शहीद भइसक्नु भो । बाँचेकापनि कता छन् कता ? म कहाँ जाउँ मेरो विवाहको प्रमाण माग्न ?
सरकारी विवाह दर्ता पनि छैन । तैपनि नजिकका नेताकहाँ कुरा राखें । उनीहरुले पनि खासै वास्ता गरेनन् । सन्दीप वाहेक मेरो को नै थियो र ? आखिर पार्टीपनि तिनै ठुला जात भनाउँदाहरुको न रै’छ । पार्टीकै सहयोगमा डिभोर्स भयो । हेर् न पुतली विचल्ली भो । धन्न गाउँमा यो कुरा थाहा भएन ।
एकै सासमा उसले कुरा सकी ।
मैले कफिको अन्तिम घुट्को लाएंँ ।
०००
पार्टीमा लागेर मुक्तिको सपना देखेकी विचरीको कथा सुनेर नमिठो लाग्यो । बाउले विहे गरिदिन खोज्दा पार्टीमै आफ्नो भविष्य देखेकी धनकलीको कुन हविगत भएछ अहिले । दुःखीलाई जहाँ गए पनि सुख छैन ।
के भनौं भनौं भो । सोचें अस्पताल किन आइहोली ?
अहिले कस्तो छ त स्वास्थ्य ?
खै । पेट दुखिरहन्छ । एक्सरे गरेको । डाक्टरले पाठेघरको मुखको क्यान्सर भा’छ भन्छ । पहिले चेक गराउनै पाइन । अपरेसन नै गर्नु पर्छ रे ।
खर्च कसरी चलाकी छेस् त ?
मेरो प्रश्नले एकछिन मौन भई ।
पार्टीले केही सहयोग गरेन ?
के गथ्र्यो ? जस्तो अवस्थामा पनि होमिने कार्यकर्ताको लागि रैनछ यो पार्टी । अनि, त्यो क्रान्ति पनि हामीजस्तालाई हैनरैछ पुतली । हिजो ज्यान जोगाउन जो इन्डीया गए, अरु पार्टीको खोल ओढर सदरमुकाममा बसे र बाँचे, तिनै मान्छेलाई पार्टीले भएभरको सहयोग गर्दोरछ ।
हेर् न पुतली मर्न पनि सकिंदो रैनछ । बाँचेर पनि सास्ती । युद्धकालमै मरेको भए शहीद त भइन्थ्यो । उसले खुइय गरी ।
हाम्रो कति भयो ? मैले अर्डरको वील मागें ।
वेटरले कप र प्लेट उठायो ।
०००
द्वन्द्वपिडितलाई राहत दिने भन्ने सुनेपछि धनकली पहिलोपल्ट काठमाडौं झरेकी रैछ । पार्टीकै कमरेडहरुको सहयोगमा सिंहदरबार पनि छिरिछ । शान्ति मन्त्रालय पनि धाइछ पटक पटक । राहत वितरणका लागि बनाइएका विभिन्न समितिसम्म पुगिछ । पार्टीका माथिल्ला नेताहरुको निवास पनि गइछ । मेरो नाम कहींपनि राख्न मिल्दैन रे पुतली हेर् न । कस्तो आपत् ।
के म द्वन्द्वपिडित होइन ? आफैसंग सोधी उसले । र, ‘द्वन्द्वपिडित हुँ’ भन्ने प्रमाणसहितको गह्रौं व्याग निकालेर देखाइ । यी हेर् । के द्वन्द्वकै कारण मेरो यो हाल भा’हैन ? मानौं म नै उसलाई निसाफ दिने अधिकारी हुँ ।
वेटरले वील ल्यायो ।
मैले पर्सबाट एक सय दश रुपैया झिकेर दिएं ।
पार्टीले उपचार त व्यहोरिदिनु पर्ने नि । मैले भनें ।
सुनेकी थिएं ‘क्रान्ति सत्तामा पुग्ने भर्याङ हो’ लाग्यो साँच्चै रहेछ ।
०००
(सेतोपाटीबाट)
प्रतिकृया दिनुहोस्