सेरोफेरो
२४ भदौ । आगामी असोज १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले माग गरेबमोजिम दल दर्ताको लागि निवेदन दिई चुनाव चिन्ह माग गरिन्छ ।
निर्वाचनमा भाग लिन चुनाव चिन्ह अनिवार्य नै हुन्छ । सामान्यतया दलको चुनाव चिन्हलाई दलको चिन्ह भनेर पनि चिनिन्छ । चुनाव चिन्हको प्रयोग र दुरुपयोगबारे पनि थुप्रै समस्या तथा विवाद भैरहेका हुन्छन् । राजनीतिक दलको लोकप्रियता जनताको मनमा रहेका चुनाव चिन्हले समेत निर्धारण गरेको हुन्छ ।
दलका चुनाव चिन्ह देश विशेष हुन्छन् । आफ्नो देशमा प्रचलित वस्तुलाई चुनाव चिन्ह बनाउने गरिन्छ । चिन्हलाई भावनासंग जोडेर पनि अर्थ लगाउने गरेको पाइन्छ । सन् २०१५ मा भारतको दिल्लीमा भएको निर्वाचनमा आम आदमी पार्टीबाट कुचो चुनाव चिन्ह लिएर उठेका अरबिन्द केजरीवालले अभूतपूर्व सफलता हात पारेका थिए । उनको दलले चुनाव चिन्ह कुचोलाई भ्रष्टाचार र कुरीतिलाई बढार्ने औजारको रुपमा व्याख्या गरेको थियो । दलका कार्यकर्ताले त्यसलाई त्यसैगरी प्रचार प्रसार गरे ।
नेपालमा पनि गणतन्त्रको स्थापना पश्चात् खुलेका केही नयाँ दलले यस्ता चुनाव चिन्ह रोजेका छन् । उदाहरणको लागि नयाँ शक्ति नेपालले आँखा चुनाव चिन्ह पाएको छ भने विवेकशील साझा पार्टीले तराजु । उनीहरुले त्यसलाई मानवीय भावना र विद्यमान समस्यासंग जोडेका छन् ।
हुनपनि चुनावताका मौसम अनुकुल दलका चुनाव चिन्हलाई भोट माग्ने प्रचार शैली दलका कार्यकर्ताले अपनाएको पाइन्छ । प्रचण्ड गर्मीको समयमा रुखले शीतलता दिने भन्दै नेपाली काँग्रेसलाई र जाडो याममा न्यानोपनका लागि सूर्यलाई भोट मागेको पनि देखिन्छ । यद्धपी यस्तो शैलीले कति भोट तान्न सक्छ त्यो बेग्लै कुरा हो ।
विश्वव्यापी रुपमा एकैखाले चुनाव चिन्ह पनि हुन्छन् । राजनीति विचारधारा, दर्शन वा कुनै समूहको प्रतिनिधित्व गर्ने खालका चिन्हलाई धेरै देशका राजनीतिक दलले प्रयोग गर्ने गरेको पाइन्छ । त्यस्ता विचार विशिष्ट चिन्ह वा रंगले प्रतिविम्वित गर्छ । जस्तै : कालो रंगले फाँसिवाद वा अराजकता जनाउँछ भने सुनौलो रंगले पूँजीवाद तथा हरियोले इस्लाम आदि जनाउँछन् ।
कम्युनिष्टहरुले रातो झण्डा, रातो तारा, हँसिया र हथौडाको अधिक प्रयोग गरेको पाइन्छ भने समाजवादी प्रजातन्त्रवादी दलहरुले रातो गुलाब । राजतन्त्र झल्काउने चिन्हको रुपमा श्रीपेच वा क्राउनको प्रयोग भएको पाइन्छ ।
नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनीतिक दल गठन विघटन भइरहेका छन् । केही समयअघि एकताको महाधिवेशनबाट एकीकृत भएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुनः फुट आएको छ । फुटपश्चात् निर्वाचन आयोगमा दल दर्ता गरेका डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले चुनाव चिन्ह क्रमशः आयाताकारभित्र हलो र गोलाकारभित्र हलो पाएका छन् ।
हुनत कतिपय अवस्थामा दलले माग गरेको चुनाव चिन्ह पहिलेनै अर्को कुनै दलले पाइसकेको अवस्थामा आयोगले नयाँ चुनाव चिन्ह प्रदान गर्छ । तर दलको ढिपी वा चुनाव चिन्हप्रतिको मोहका कारण कतिपय चिन्ह उस्तै उस्तै लाग्ने खालका हुन्छन् । यस्तो हुँदा मतदाता झुक्किन सक्छन् । उदाहरणको लागि भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनका बेला सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका मेयर पदका स्वतन्त्र उमेदवार गेहेन्द्रप्रसाद दाहाललाई आयोगले ठेकी चुनाव चिन्ह प्रदान गरेको थियो । तर कोहीपनि उमेदवार नभएको ठेकीजस्तै देखिने काठको मुडोमा समेत भोट खसेको थियो ।
हालैमात्र गठन भएको मधेशवादी दल राष्ट्रिय जनता पार्टीले छाता चुनाव चिन्ह रोजेको छ । तर गोलाकारभित्र छाता जनशक्ति नेपाल पार्टीको चुनाव चिन्ह हो । नेपाल मजदुर किसान पार्टीको चिन्ह मादल हो भने लिवरल डेमोक्रेटिक पार्टीको चिन्ह दमाहा रहेको छ । नयाँ शक्ति पार्टीको चुनाव चिन्ह देव्रे आँखा हो भने नेपाल लोकतान्त्रिक जनता काँग्रेसको चिन्ह दुई आँखा हो ।
यस्तै मतदाता अलमल हुन सक्ने चुनाव चिन्ह मध्ये नेपाल शान्ति क्षेत्र परिषद र नेपाल लोकतान्त्रिक फोरमको हो । जसमा क्रमशः थपडी बजाएको जोडा हात र दुई हात जोडेको नमस्कार छन् । नेपाल आमा पार्टीले बच्चा काखमा लिएकी आमा र मातृभूमी नेपाल दलले गाग्री बोकेको महिलालाई चुनाव चिन्ह बनाएका छन् ।
राजनीतिक दलसम्बन्धी विधेयकउपर संसदमा छलफल हुँदैगर्दा राष्ट्रिय चिन्हलाई दलीय चिन्ह बनाउन पाइने वा नपाइने भन्ने विषयले पनि प्रवेश पाएको थियो । अन्ततोगत्वा धेरै दलको चुनाव चिन्ह फेर्नुपर्ने भएपछि राष्ट्रिय चिन्हहरु पनि चुनाव चिन्हमा प्रयोग गरिएका छन् । जस्तै राप्रपा नेपालले गाई, राष्ट्रिय यथार्थवादी पार्टीले डाँफे, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले षटकोण तथा नेपाली ग्रिन्स पार्टीले हिमाल चुनाव चिन्ह पाएका छन् ।
चुनाव चिन्हमा प्रकृति, धर्म संस्कृति तथा बैज्ञानिक आविष्कार झल्कने वस्तुसमेत रहेका छन् । चिन्हमा चस्मा, घडी, मोटरसाइकल, रिक्सा, हवाईजहाज, लालटिन, सावेल, कोदालो, हेलिकप्टर, लुगा सिउने कल र मोटरसाइकल जस्ता संकेत राखिएका छन् । यस्तै बाघ, हात्ति, गैंडा, कछुवा, जिराफ, घोडा, उँट, भेडा, जरायो, माछा, सुगा, परेवा, कुखुराको भाले पनि दलका चुनाव चिन्ह रहेका छन् ।
कतिपय दलले खुकुरी, भाला, हथौडा, खड्ग, हँसिया र धनुषबाणजस्ता वस्तुलाई चुनाव चिन्ह बनाएका छन् । केहीले केरा, फूल, भूईंकटहर जस्ता फलफूल तथा कतिले सुदर्शन चक्र, ध्वजा, डमरु, घण्टी र हृदय जस्ता चिन्ह पाएका छन् ।
यसरी निर्वाचन आयोगले ९६ दललाई ९१ चुनाव चिन्ह प्रदान गरेको छ । चुनावमा कार्यगत एकता गर्ने केही दलहरुले संयुक्त चुनाव चिन्ह समेत पाएका छन् ।
नेपालमा बग्रेल्ती राजनीतिक दल रहेको तर निर्वाचनमा केही राष्ट्रिय दलले मात्रै जित हासिल गर्दै आएका छन् । हालैमात्र जारी गरिएको राजनीतिक दलसम्बन्धी ऐनले कुनैपनि दल राष्ट्रिय दल हुन समानुपातिकतर्फ प्रतिनिधिसभामा ३ प्रतिशत र प्रदेशसभामा कम्तीमा साढे एक प्रतिशत मत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्ने बाध्यात्मक व्यवस्था छ । यस्तो थ्रेसहोल्डको प्रावधानले दलहरुले अस्थित्व जोगाउन या त मर्जरमा जानुपर्ने या त राजनीतिबाट बाहिरिनुपर्ने अवस्था पनि नआउला भन्न सकिन्न ।
हेर्नुहोस् सूची :
प्रतिकृया दिनुहोस्