सेरोफेरो
२६ भदौ । विद्यालय वरपरका होटेल तथा खुद्रा पसलहरुमा राखिने मदिरा तथा सुर्तिजन्य पदार्थको विक्रि वितरणबाट विद्याथीहरु बढि प्रभावित भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । यस्ता वस्तुको सहज पहुँचका कारण प्रयोगको दर समेत बढ्दै गएको उनीहरुले बताएका छन् ।
६ नं प्रदेश प्रहरी कार्यालयले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार आयोजना गरेको ट्राफिक व्यवस्थापन, अपराधको अवस्था तथा लागु औषध दुव्र्यसन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
वीरेन्द्रनगर बजार क्षेत्रका विद्यालय वरपर सूर्तिजन्य तथा मदिरा खुला रुपमा विक्रि वितरण भैरहेकोले यसको नियन्त्रण आवश्यक रहेको वडा नम्वर ६ का अध्यक्ष मोतिप्रसाद कंडेलले बताए ।
जिल्ला शिक्षा कार्यलय सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्सालका अनुसार सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ बमोजिम विद्यालय क्षेत्र वरीपरी सय मिटर सम्म यस्ता खालका पदार्थहरु विक्रि वितरण गर्न पाईंदैन । तर, कानुनको वेवास्ता गर्दै व्यापारीहरुले विद्यालय हातामै यस्ता वस्तु विक्रि वितरण हुने गरेका उनले बताए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रणबहादुर चन्दले लागु औषध प्रयोग रोकथामका लागि परिवार, समाज विद्यालय तथा राज्यको भुमिका महत्वपूर्ण हुने बताएका छन् । समाजमा हुने विभिन्न आपराधिक घटना नियन्त्रणका लागि नेपाल प्रहरी हरसमय लागिपर्ने जनाएका छन् ।
प्रदेश नम्वर ६ मा आर्थिक बर्ष ०७३/०७४ मा कर्तव्य ज्यान ४०, भवितव्य ज्यान १७४, फुटकर ज्यान ४५, विष सेवन गरी ४४, आत्महत्या १७४ गरी जम्मा चार सय ७७ जनाको मृत्यु भएको ६ नम्बर प्रदेश प्रहरी कार्यलय सुर्खेतले जनाएको छ । अन्य जिल्लाको तुलनामा सुर्खेत जिल्लामा विभिन्न आपराधिक घटनाको दर उच्च रहेको समेत कार्यलयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्