सेरोफेरो
२६ भदौ । सरकारले सोमवार मन्त्रिपरिषद विस्तार गरेको विषयप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ । आयोगले विज्ञप्ति जारी गरी सरकारको उक्त कार्यले आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।
निर्वाचन आचार संहिता लागू भएको अवस्थामा सरकारी लाभ प्राप्त हुने पदमा मन्त्री तथा राज्य मन्त्री नियुक्त गर्नु आचारसंहिता विपरित भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि भदौ १४ गते देखि आचारसंहिता जारी गरिएको हो ।
आयोगले सो सम्वन्धमा भदौ १५ गते सरकारलाइ सात बुँदे निर्देशन दिएको थियो । "स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनसाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकोले मन्त्रिपरिषद विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने हुँदा यस किसिमका कार्य नगर्न नगराउन आयोग नेपाल सरकारलाइ आग्रह गर्दछ", विज्ञप्तीमा उल्लेख छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको उक्त निर्णयको विरोध गरेको थियो ।

प्रतिकृया दिनुहोस्